बाढीपहिरोले कम्तीमा ५० जनाको मृत्यु, दर्जनौं बेपत्ता, कहाँ कति क्षति भयो [अपडेट]



काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभर कम्तीमा ५० जनाको मृत्यु भएको छ । दर्जनौं मानिस बेपत्ता भएका छन् । बाढी तथा डुबानमा फसेका सयौंको उद्धार गरिएको छ ।

शनिबार साँझसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै मृत्यु हुनेको संख्या ३४ पुगेको छ । जसमध्ये ललितपुरमा १८, काठमाडौं जिल्लामा ११ र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ ।

यसैगरी काभ्रेमा ६ जना, सिन्धुपाल्चोकमा २ जना, पाँचथरमा ५ जन, धनकुटामा २ जना, झापामा १ जना साथै धादिङ र सिन्धुलीमा पनि १/१ जनाको मृत्यु भएको छ ।

यस क्रममा काठमाडौं उपत्यकामा मात्रै १७ जना बेपत्ता रहेका छन् । प्रहरीका अनुसार काठाडौं उपत्यकामा चार वटा पक्की घरसहित देशभर १ हजार २ सय ५० जति घर डुबानमा परेका छन् । यसवाहेक देशका ५० भन्दा धेरै सडकहरु पहिरोले अवरुद्ध भएका छन् । कतिपय राजमार्गका पक्की पुलहरु भत्काउँदा आवतजावतमा कठिनाइ भएको छ ।

दुई दिनदेखि मौसम खराब हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध बनेको छ । शनिबार अवरणको तयारीमा रहेका अन्तर्राष्ट्रिय उडान पनि प्रभावित बने । चीन र भारतबाट सयौं यात्रु लिएर आएका विमान पनि खराब मौसमका कारण अवतरण गर्न नसकेर उतै फर्किएका थिए ।

यस्तै काठमाडौं जोड्ने सबै सडकहरु अवरुद्ध बनेका छन् । शनिबार देशभर ४४ जिल्लामा बाढीपहिरो, डुबान र कटानले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । तीमध्ये झण्डै ४० जिल्लाका विभिन्न सडकहरु पूर्णरुपमा अवरुद्ध भएका छन् ।

यसैबीच देशभरका नदीहरुको सतह बढेर आसपासका बस्तीहरु विस्तापित बनेका छन् । कोशी ब्यारेजमा पानीको बहाव बढेर कोशी ब्यारेजका सबै ढोका खोलिएका छन् । शनिबार दिउँसो रेड एलर्ट जारी गर्दै ब्यारेजको बाटो भएर आउजाउ गर्न रोक लगाइएको छ । मकवानपुरको कुलेखानी ड्याम पनि ओभरफ्लो भएर ढोका खोलिएको छ ।


क्लिकमान्डु