देशभर मुसलधारे वर्षा: कहाँ के-कति क्षति भयो ?



काठमाडौं । मुसलधारे वर्षाका कारण देशभरका नदीहरुको सतह बढेको छ । उपत्यकाका कतिपय स्थान भने डुबानमा परेका छन् । नदीहरुको सतह बढेपछि आसपासका क्षेत्र डुबानमा परेका छन् ।

कुलेश्वर, बल्खुलगायत क्षेत्रमा पानीको सतह बढेर नदीछेउका क्षेत्र डुबानमा परेका छन् । यस्तै खोकना, गौरीघाट, बल्खु खेला, विष्णुमती गोङ्गबु बसपार्क क्षेत्र पनि जलमग्न भएका छन् । ती क्षेत्रका नदीहरुको जल सतह सतर्कता तहभन्दा माथि गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

र अझै पानी नरोकिएकाले नदीको सतह अझ बढ्ने सम्भावना रहेको पनि विभागले जनाएको छ । नदी किनारका कोरिडोर सडकहरुमा जोखिम बढेपछि प्रहरीले रात्रिकालीन समयमा यात्रा नगर्न आग्रह गरेको छ ।

यसबाहेक देशको पूर्वी क्षेत्रका कैयौं बस्तीहरु जलमग्न भएका छन् । देशका अधिकांश क्षेत्रमा शुक्रबार बिहानैदेखि मुसलधारे वर्षा भएपछि आम मानिसहरुको जनजीवन कष्टकर बनेको छ ।

मोटरसाइकल बगाएर एक जना बेपत्ता:

काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्णचोक नजिकै हलचोकबाट अजिमातर्फ जाने ढल मिसिएको खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार शुक्रबार साँझ ६:१५ बजेमा वाग्मती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकलमा सवार सिन्धुपालचोक घर भई हाल रानीवन बस्ने १९ वर्षीय चालक राजन श्रेष्ठलाई खोलाले बगाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार मोटरसाइकल निकाले पनि चालक श्रेष्ठ बेपत्ता छन् । उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहानैदेखि भारी वर्षाले काठमाडौंसहित देशभरका विभिन्न स्थानमा जनजीवन अस्तव्यस्त बनेको छ । अधिकांश ठाउँमा बाढीपहिरो गएका छन् । देशभरका अधिकांश ठूला नदीको सतह बढेर आसपासका बासिन्दाहरु अन्यत्र सरेका छन् ।

२ सय ३८ उठान रद्द, आन्तरिक उडान ठप्प :

खराब मौसमका कारण दिनभर डिले भएका र उडान हुन नसकेको उडानसँगै भोलि शनिबार बिहानसम्मका लागि सबै आन्तरिक उडान बन्द भएका छन् ।

शुक्रबार बिहानैदेखि परेको मुसलधारे वर्षाका कारण आन्तरिकतर्फ कम्तीमा २ सय ३८ वटा उडान रद्द भएका छन् । खराब मौसमका कारण यति धेरै संख्यामा आन्तरिक उडान रद्द भएको यो पहिलो पटक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार शुक्रबार खराब मौसमका कारण ७८ वटा मात्रै उडान भए । तर २ सय ३८ वटा उडान रद्द भएका छन् । जुन झन्डै ७५ प्रतिशत उडान रद्द भएको मानिन्छ । यसअघि शीतलहर र मनसुनमा पनि मौसमकै कारण यत्रो धेरै संख्यामा आन्तरिक उडान रद्द नभएको निरौलाले बताएका छन् ।

तुम्लिङटार, भरतपुर, पोखरा र सुर्खेत विमानस्थल शुक्रबार खराब मौसमका कारण दिनभर बन्द भएका छन् । अरू विमानस्थलमा भने छिटपुट उडान भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसमका कारण शुक्रबार साँझ ७ देखि शनिबार बिहानसम्मका सबै आन्तरिक उडान रद्द गर्ने निर्णय गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कैयौं विमान खराब मौसमका कारण धेरै समयसम्म आकाशमै होल्ड गर्नु परेको थियो । केही भने डाइभर्ट गरिएको थियो ।

नेपालगन्जबाट काठमाडौंका लागि उडेको एन वाई टी ४२२ नं. फ्लाइट भैरहवा डाईभर्ट गरिएको र भैरहवाबाट पुन काठमाडौं आएको जहाज सिमराको आकाशमा होल्ड गरेर पुन: नेपालगन्ज नै फर्केको भने काठमाडौंबाट बिराटनगर उडेको ७८३ नं. को प्लाईट गन्तव्य नपुगी पुन: काठमाडौं फर्केको पनि भुलले बताए ।

यस्तै आज यति एअरलाईन्सको दुईतर्फी ६४ वटा उडानहरु निर्धारण गरिएका थिए । त्यस्तैगरी तारा एअरले निर्धारण गरेको आजका लागि निर्धारित सबै उडान रद्द गरिएको छ । आज ताराका पोखरा – जोमसोमका ४ वटा उडान, काठमाडौं र रामेछाप बाट लुक्लाका लागि निर्धारित १२ वटा उडान रद्द भए ।

झापामा बालकसहित दुई जना बेपत्ता:

अविरल वर्षासँगै झापाका विभिन्न नदीमा बाढीले आसपासको जनजीवन कष्टकर बनाएको छ । शुक्रबार नै झापामा बाढीका कारण एक बालिकासहित दुई जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कमल गाउँपालिका-१ बस्ने रमेश चौधरीका ३५ वर्षीय छोरा टिकाराम चौधरी नजिकैको किस्ने खोलामा माछा मार्ने क्रममा बेपत्ता भए । त्यस्तै कचनकवल गाउँपालिका-१ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गर्दा स्थानीय पंचु राजवंशीकी १४ वर्षीया छोरी नेहारिका राजवंशीलाई जमुवा खोलाको कज्वेको पानीले बगाइएको छ । बेपत्ता दुवै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच अर्जुनधारा नगरपालिका-७ स्थित बिरिङ खोलामा रहेको खुदुनाबारी-शनिश्वरे जोड्ने मोटरेवल पुलमा बाढीले क्षति पुर्‍याएको छ ।

पुलमा थप क्षति भएपछि पुलबाट मानिस तथा सवारी साधन आवागमन निषेध गराएर वैकल्पिक मार्गबाट आउजाउको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी दक्षिण झापाको कचनकवल गाँउपालिका-२ स्थित अमरखुट्टा खोला तर्ने क्रममा प्र.१-०२-०५प ६९७८ नं.को मोटरसाइकल खोलाले बगाएको छ । यसका चालक भने सकुशल रहेको बताइएको छ । देशको पूर्वी क्षेत्रका अधिकांश नदीहरुमा जल सतह बढेर सतर्कता तह पार गरिसकेको जल तथा मौसम विभागले जनाएको छ ।

कुलेखानी ड्याममा जल सतह बढेर खतराको संकेत:

अविरल वर्षाका कारण कुलेखानी ड्याममा पानीको सतह बढेर कुनै पनि समयमा ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने बताइएको छ ।

कुलेखानी प्रथम जलविद्युत केन्द्रले सावधानीका लागि सूचना जारी गरेको छ। केन्द्रले इन्द्रसरोबर गाउँपालिका मार्खुलाई उक्त सूचनाबारे स्थानीयलाई जानकारी गराइदिन समेत अनुरोध गरेको छ।

सूचनामा कुलेखानी ड्याममा पानीको सतह बढ्ने र मुख्य ड्यामको ढोका खोल्दा बागमती खोलाको बहाब बढ्न गई तटीय क्षेत्रमा कुनै पनि वेला डुबान हुनसक्ने सम्भावना रहेको जनाइएको छ। यस क्षेत्र आसपासका स्थानीयलाई समयमै सुरक्षित रहन र उच्च सतर्कता अपनाउन पनि भनिएको छ ।

यसवाहेक देशको पश्चिमी क्षेत्रका कैयौं स्थानमा पनि वर्षाले राजमार्गहरु अवरुद्ध भएका छन् । धेरै ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएका छन् । जल तथा मौसम विभागका अनुसार शनिबार पनि दिनभर वर्षा भइरहने छ । विभागले यसअघि नै अघिल्लो वर्ष भन्दा यो मनसुनमा धेरै वर्षा हुने पूर्वानुमान गरेको थियो ।


क्लिकमान्डु