राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री ओली: ‘वसुधैव कुटुम्बकमको आदर्श हामी दैनिक जीवनमा पालना गर्छौं’



‘भूराजनीतिक प्रतिस्पर्धाको पुनः उदय भएको छ । सैन्य खर्च र नियन्त्रणविहीन हतियार दौड बढिरहेको छ । आणविक युद्धको भय समाप्त भएको छैन । हाम्रो अर्थतन्त्र कमजोर छ, कोभिड–१९ महामारीका दीर्घकालीन प्रभावहरूसँग जुधिरहेको छ । उदारीकरण र विश्वव्यापीकरणले ल्याउनुपर्ने लाभ हामीले प्राप्त गर्नुभन्दा पहिले नै राष्ट्रवाद र संरक्षणवाद पुनः देखापरेको छ ।’

अमेरिका । प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई शुक्रबार सम्बोधन गर्दै उनले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताए ।

सङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको भन्दै उनले आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी दिएका थिए ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी सबै मुद्दालाई सधैँका लागि समाधान गर्न आफू प्रतिबद्ध रहेको जनाउँदै प्रधानमन्त्री ओलीले भने, ‘हामी कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितहरूको अधिकारको रक्षालाई प्राथमिकता दिनेछौँ । द्वन्द्वकालका पीडामा मल्हम लगाउने प्रयासस्वरुप क्षतिपूर्ति उपलब्ध गराउनका साथै मेलमिलापमा जोड दिनेछौँ ।’

नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको पनि उनले प्रशंसा गरेका थिए ।

वर्तमान विश्व आमूल परिवर्तनको मोडमा रहेको भन्दै धनी र गरिब, सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाशबीचको विरोधाभासमा रहेको उल्लेख गर्दै उनले मानव जाति र पृथ्वी जलवायुको विपत्तिमा रहेको वास्तविकता प्रस्तुत गरेका थिए ।

‘भूराजनीतिक प्रतिस्पर्धाको पुनः उदय भएको, सैन्य खर्च र नियन्त्रणविहीन हतियार दौड बढिरहेको, आणविक युद्धको भय समाप्त भएको छैन’, प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो अर्थतन्त्र कमजोर छ, कोभिड–१९ महामारीका दीर्घकालीन प्रभावहरूसँग जुधिरहेको छ, उदारीकरण र विश्वव्यापीकरणले ल्याउनुपर्ने लाभ हामीले प्राप्त गर्नुभन्दा पहिले नै राष्ट्रवाद र संरक्षणवाद पुनः देखापरेको छ ।’

तीन सय वर्षको औद्योगिकीकरण र आधुनिकीकरण यात्रापछि पनि समृद्धि मुख्य रूपमा औद्योगिकीकरणका माध्यमबाट आर्थिक समृद्धि हासिल गरेका राष्ट्रमा नै केन्द्रित रहेको तथा गरिबी र अभाव अतिकम विकसित देशहरूमा व्यापक रहेको उल्लेख गर्दै उनले यस्तो विभेद हटाउन अर्थपूर्ण सहयोग र सहकार्यलाई बढावा दिनुपर्नेमा जोड दिए ।

‘सामूहिक इच्छाशक्ति र एकीकृत कार्यद्वारा मात्र हामी यो प्रवृत्तिलाई उल्टाउन सक्छौँ र सबैका लागि दिगो शान्ति र साझा समृद्धिको युग प्रारम्भ गर्न सक्छौँ,’ प्रधानमन्त्री ओलीले भने ।

नेपालको सबै क्षेत्रको विकासका निम्ति लामो समयदेखि अघि सारिएको ‘कसैलाई पछाडि नछाडिने’ सिद्धान्त देश विकासको आधारशिला भएको भन्दै उनले यो नेपालको संविधानमा समाहित रहेको तथा यसले समावेशिता, समानता, न्याय, समानुपातिक प्रतिनिधित्व, मानवअधिकार र समाजको सबैभन्दा कमजोर वर्गका लागि सामाजिक सुरक्षाको प्रत्याभूति गरेर लोकतान्त्रिक मूल्यमान्यतालाई कायम राखेको पनि स्पष्ट पारेका थिए ।

यस क्रममा प्रधानमन्त्री ओलीले वैदेशिक कामदारहरूको सुरक्षा, सम्मान, मर्यादा, र अधिकारका विषय सधैँ नेपालको प्राथमिकतामा रहेको बताएका थिए । साथै सधैँ सुरक्षित र व्यवस्थित आप्रवासनको नेपालले पैरवी गर्ने उनको भनाइ थियो ।

‘हाम्रो संसार पूर्ण छैन, तर यो निराशाजनक पनि छैन । मानवजाति अझै पनि भावी पुस्ताको समृद्धि र खुसीमाथि सम्झौता नगरिकन अघि बढ्न सक्षम छ भन्नेमा हामी विश्वस्त छौँ’, उनले भने, ‘आज हामीले सामना गरिरहेका विश्वव्यापी चुनौती कुनै अर्को ग्रहबाट आएकाहरूले सिर्जना गरेका होइनन् । यी हाम्रै सिर्जना हुन्, हाम्रै कामका परिणाम हुन् । त्यसैले हामीले विश्वव्यापी समझदारी, विश्वास र सहयोगलाई बढावा दिएर यी समस्या समाधान गर्नतर्फ सोच्नुपर्छ ।’

सबै देश र पक्षको सहकार्यबाट नै न्यायपूर्ण, समावेशी र समान विश्वव्यवस्थाका साथै दिगो समृद्धि हासिल गर्न सकिने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेका थिए ।

‘म यहाँ हाम्रो ग्रन्थ महाउपनिषद्ले इसापूर्व छैटौं शताब्दीबाट नै देखाएको वसुधैव कुटुम्बकम अर्थात् सम्पूर्ण संसार एउटै परिवार हो भन्ने आदर्शलाई स्मरण गर्न चाहन्छु । हाम्रा लागि यो दर्शनमात्र होइन, हामी दैनिक जीवनमा पनि यसको पालन गर्छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘यही विश्वासका साथ नेपाल शान्ति, प्रगति र समृद्धिको साझा आकाङ्क्षालाई सुरक्षित गर्न प्रतिबद्ध छ ।’

प्रधानमन्त्री ओलीले महासभाका अध्यक्ष र महासभाको ब्यूरोका अन्य सदस्यहरूलाई निर्वाचित भएकामा बधाई दिँदै उनीहरुलाई सुम्पिइएको जिम्मेवारी पूरा गर्न नेपालले सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका थिए । साथै उनले महासभाका पूर्वअध्यक्ष डेनिस फ्रान्सिसलाई ७८औँ सत्रको सफलतापूर्वक नेतृत्व गरेकामा धन्यवाद व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले महासचिव एन्टोनियो गुटेरेसलाई विश्वव्यापी चुनौतीहरूको समाधानका निम्ति बहुपक्षीयतालाई सुदृढ पार्न निरन्तर समर्पणका साथ लागिपरेकामा आभार व्यक्त गरेका थिए ।

उनले गत वर्ष नेपाल भ्रमण गरेर गौतम बुद्धको जन्मस्थलबाट शान्तिको सन्देश तथा सगरमाथा क्षेत्रबाट हिमालको जलवायु विपत्तिमा परेको सन्देश दिएकोमा स्मरण गर्दै जलवायु परिवर्तनका दुष्प्रभावविरुद्ध लड्न विश्वका सबै राष्ट्र एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।


क्लिकमान्डु