फोक्सोलाई कसरी स्वस्थ्य राख्ने ?



हामीले हरेक वर्ष झैँ यस वर्ष पनि २५ सेप्टेम्बरलाई विश्व फोक्सो दिवसका रुपमा मनाउँदै छौँ । यो वर्ष ‘सबैलाई स्वच्छ हावा र स्वस्थ फोक्सो’ भन्ने नारासहित नेपालसहित विश्वभर उक्त दिवस मनाउन लागिएको हो । यस लेखमा फोक्सोले कसरि काम गर्छ र फोक्सोलाई कसरि स्वस्थ राख्ने भन्ने तरिकाहरुको बारेमा संक्षिप्तमा जानकारी गराउने प्रयास गरिएको छ ।

सास फेर्ने प्रक्रिया

सास फेर्दा, हामी नाक वा मुखबाट हावा लिन्छौं। यो हावा नासिका मार्ग वा मुखबाट स्वासका नलीहरु हुँदै फोक्सोमा पुग्छ । फोक्सोका सानो एयर स्याकहरू, जसलाई एल्वियोली भनिन्छ, यहाँ अक्सिजन र कार्बनडाइअक्साइडको आदानप्रदान हुन्छ । रगतले एल्वियोलीबाट अक्सिजन ग्रहण गर्दछ र कार्बन डाइअक्साइड वायुमार्ग हुँदै नाक वा मुखबाट निस्किन्छ।

फोक्सो आफैंले सास तान्न सक्दैन । सास फेर्ने प्रक्रियामा प्रमुख भूमिका खेल्ने मांसपेशीहरूमा डायफ्राम र छातीका मांसपेशी (इन्टरकोस्टल मांसपेशीहरू) पर्छन् । डायफ्राम छातीको तल्लो भागमा एक गुम्बज आकारको मांसपेशी हो । यसले फोक्सोलाई फुल्न र खुम्चन मद्दत गर्दछ । इन्टरकोस्टल मांसपेशीहरू करंगका हड्डीको बीचमा अवस्थित हुन्छन् । यी मांसपेशीहरूले छातीको केजलाई फुल्न र खुम्चन मद्दत गर्दछ। यिनै मांसपेसीहरुको मद्दतले हामी स्वास फेर्छौं ।

फोक्सोका महत्वपूर्ण कार्यहरु

अक्सिजन आपूर्ति कार्बन डाइअक्साइड हटाउने: फोक्सो शरीरमा अक्सिजन ल्याउन महत्वपूर्ण भूमिका खेल्छ। सास फेर्दा वातावरणबाट अक्सिजन लिन्छ र शरीरमा उत्पन्न भएको कार्बन डाइअक्साइडलाई फोक्सो बाहिर फ्याँक्छ, जसले शरीरलाई स्वस्थ राख्छ र रक्तसञ्चारको शुद्धिकरण गर्छ ।

रोग प्रतिरोधात्मक क्षमता: फोक्सोमा साना रौ जस्ता सिलिया हुन्छन्, जसले धूलो, किटाणु र अन्य हानिकारक कणलाई बाहिर निकाल्न मद्दत गर्छ, जसले शरीरलाई रोगबाट जोगाउँछ।

ध्वनि उत्पादन: फोक्सोले नाक र मुखमार्फत सासको प्रवाहलाई व्यवस्थित गरेर स्वर यन्त्र (larynx) मा ध्वनि उत्पादनमा सहयोग पुर्‍याउँछ।

अम्ल-क्षारको सन्तुलन राक्दछ

हामीले प्रत्येक पटक श्वास लिँदा आधा लिटरजति हावा फोक्सोभित्र तानिरहेका हुन्छौँ । एक मिनेटमा ७ देखि ८ लिटर र २४ घण्टामा ११००० लिटर जति हावा लिन्छौँ । प्रदूषित हावामा धुलोको कणहरु तथा हानिकारक ग्यासहरू मिसिएको हुन्छ । हामीले श्वास लिँदा हावासँगै त्यसमा मिसिएका कणहरू तथा हानिकारक ग्यासहरु पनि फोक्सोभित्र प्रवेश गर्दछ जसले विभिन्न स्वास्थ्य समस्याहरु निम्त्याउन सक्छ । धुलोका अत्यन्त साना कणहरू तथा हानिकारक ग्याँसहरू फोक्सोमा मात्र नभई फोक्सोको माध्यमबाट रक्त सञ्चार प्रणालीमा प्रवेश गरी शरीरका अन्य भागहरुमा समेत क्षति पुर्याउन सक्दछ । वायु प्रदुषण, जलवायु परिवर्तन र जीवनशैलीमा आएको परिवर्तनका कारण फोक्सोका विरामी दिन प्रतिदिन बढ्दै गएका छन् । जसका कारण विशेष गरि दमको समस्या, फोक्सोको क्यान्सरको समस्या बढ्दो क्रममा रहेको छ ।

फोक्सोका महत्वपूर्ण रोगहरू:

दम (सीओपीडी/ आस्थ्मा): यो एक दीर्घकालीन समस्या हो। एसका लक्षणहरूमा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, सीटी बज्ने र छातीको दुखाइ आदि पर्दछन् ।

फोक्सोको क्यान्सर: फोक्सोको क्यान्सर एक गम्भीर रोग हो जसमा फोक्सोमा असामान्य कोशिकाहरू अनियन्त्रित रूपमा बढ्छन्। धुम्रपान फोक्सोको क्यान्सरको प्रमुख कारण हो।

निमोनिया: निमोनिया फोक्सोको संक्रमण हो। यो विभिन्न कारणले हुन सक्छ, जस्तै ब्याक्टेरिया, भाइरस वा फङ्गस। निमोनियाका लक्षणहरूमा खोकी, ज्वरो, छाती दुखाइ र सास फेर्न गाह्रो हुने समावेश छ।

क्षयरोग(टीबी): यो एक संक्रामक रोग हो, यो माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाबाट हुन्छ। एसले मुख्यतया फोक्सो र शरीरका अन्य अंग हरुमा संक्रमण गर्दछ।

फोक्सोलाई स्वस्थ राख्ने र रोग लाग्नबाट बचाउने केहि सरल उपाएहरु
प्रदुषणबाट फोक्सोलाई बचाउने केही उपायहरू

धुलो, धुवाँ ढुसी आदी हटाउन घरमा नियमित रूपमा सफा गर्ने।

घरमा पर्याप्त हावा प्रवाह सुनिश्चित गर्न नियमित रूपमा झ्याल र ढोका खोल्ने बानि गर्ने ।

अरुले गरेको धुम्रपानबाट बच्ने र अरुलाई पनि धुम्रपान नगर्नको लागि परामर्श दिने ।
खाना पकाउन, कोठाहरु तताउन कम प्रदुषण गर्ने इन्धन प्रयोग गर्ने

वायु प्रदूषणको स्तर उच्च हुँदा बाहिर ननिस्कने प्रयास गर्नुहोस्।

प्रदुषित क्षेत्र मा जानु पर्दा एन-९५ मास्क लगाउनुहोस्।

प्रदूषणयुक्त क्षेत्रहरूबाट टाढा रहने प्रयास गर्नुहोस्।

फोक्सोको स्वास्थ्यलाई कायम राख्न आहार र व्यायाम महत्वपूर्ण भूमिका खेल्छन् । स्वस्थ आहारमा हरियो सागपात, फलफूल समावेश गर्नुपर्छ । साथै, नियमित व्यायामले फोक्सोको कार्यक्षमता सुधार गर्छ। विशेषगरी, गहिरो सास फेर्ने अभ्यास, दौडने, पौडी खेल्ने, र योगजस्ता शारीरिक क्रियाकलापले फोक्सोको कार्यक्षमता बढाउँछ । फोक्सोको संक्रमण बाट जोगाउन संक्रमित व्यक्तिको वरपर नजाने, सामाजिक दूरी कायम राख्ने, हातधुने, माक्सको प्रयोग गर्ने, आफूलाई संक्रमण भए सावधानी अपनाउने आदी गर्नुपर्दछ ।

प्रशस्त झोल कुरा पिउनु पनि स्वास्थ्यका लागि महत्वपूर्ण छ। पानीले फोक्सोको कार्यलाई सुधार गर्न मद्दत गर्दछ, पर्याप्त पानीले फोक्सोको कफलाई पातलो बनाउँछ, जसले श्वासप्रश्वासलाई सहज बनाउँछ ।

फोक्सोको स्वास्थ्यलाई जोगाउन खोप पनि महत्त्वपूर्ण हुन्छ। फ्लू र निमोनियाबाट बच्नका लागि खोपले केहि हदसम्म फोक्सोलाई संक्रमणबाट जोगाउँछ।

(डा रवी महत ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका श्वासप्रश्वास रोग विशेषज्ञ हुन् ।)


क्लिकमान्डु