काठमाडौंका मेयर विद्यासुन्दरले भने- काम गर्ने वातावरण नै भएन



मेयर शाक्य, फाइल फोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काम गर्ने वातावरण नभएका कारण आफूले काम गर्न नसकेको बताएका छन् । नेपाल संवत् ११३८ का उपलक्ष्यमा शाक्य फाउण्डेशनले राजधानीमा आयोजना गरेको कार्यक्रममा शाक्यले यस्तो बताए ।

निर्वाचनका बेला आफू निर्वाचित भएको १०० दिनमा १०१ काम गरेर देखाउँछु भनेका शाक्यले निर्वाचित भएको २०० दिन पुग्दासमेत काम गर्न सकेका छैनन् । मेयर शाक्यले काम गर्न नसकेपछि उपत्यकाबासीले मात्रै होइन, एमालेभित्रै पनि काम गर्न नसक्ने मान्छेलाई पार्टीले टिकट दिइएको भन्दै तीब्र आलोचना भइरहेको छ ।

विगतमा सम्पन्न हुन नसकेका विकास निर्माणका काम फत्ते गर्नुपर्ने जिम्मेवारी आफ्नो काँधमा आइपरेको शाक्यले बताए ।

‘नीति र योजना तर्जुमा गरेको छु तर काम गर्ने अनुकूल वातावरण बनेको छैन,’ उनले भने, ‘परिणाम देख्नका लागि तपाईंहरु केही समय धैर्य गरिदिनुपर्यो ।’

महानगरका लागि खानेपानीको पाइप बिछ्याउने, बिजुलीको तार जमिनमुनिबाट राख्ने कामका साथै १ अर्ब रुपैयाँको लागतको सडक सुधारका काम शुरु गरिएको जानकारी दिए । तर, यी दुबै कामहरु महानगरका योजना नभई केन्द्रिय सरकारले विगतदेखि नै सञ्चालन गर्दै आएका योजना हुन् ।

काठमाडौंको कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै यहाँका ‘बहाः बही’ का रुपमा चिनिने महाविहारको जीर्णोद्धारका योजना र बजेट विनियोजन गर्ने काम भइसकेको जानकारी उनले जानकारी दिए ।

कार्यक्रममा फाउण्डेशनले मेयर शाक्यलाई सम्मान पनि गरेको थियो ।

फाउण्डेशनका उपाध्यक्ष राजकाजी शाक्यले नेपाल संवत्का प्रवत्र्तक शंखधर साख्वाःबारे व्यापक अध्ययन र अनुसन्धानको काम हुनुपर्ने बताए । फाउण्डेशनका सल्लाहकार देवकाजी शाक्यले नेपाल संवत् मुलुककै मौलिक संवत् र राष्ट्रिय विभूति शंखधर यसका प्रवर्तक भएको सन्देश देशको कुनाकाप्चामा पु¥याउनुपर्ने औँल्याए ।

न्हू दँ राष्ट्रिय समारोह समितिका सुजीव बज्राचार्यले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा नेपाल संवत्लाई प्रयोगमा ल्याउने प्रतिबद्धता जनाउने र आप्रवासनको समस्या समाधान गर्न अठोट व्यक्त गर्ने उम्मेदवारलाई जिताएर पठाउनुपर्ने विचार व्यक्त गरे ।

फाउण्डेशनका अध्यक्ष अमीरमान शाक्यको अध्यक्षतामा भएको उक्त समारोहमा १६ बही सर्वसंंघका मूल थकाली अष्टमान शाक्य र कीर्तिपुण्य महाविहार लगः बहाःका स्थवीर ज्ञानमान शाक्यलाई मानार्थ आजीवन सदस्यता प्रदान गरिएको थियो ।

त्यसैगरी फाउण्डेशनको आजीवन सदस्य रही विभिन्न महाविहार र संघसंस्थाको नेतृत्वमा रहेर शाक्य समुदाय र बुद्धधर्मको प्रवद्र्धनमा योगदान पु¥याइआएका महानुभावलाई पनि सम्मान गरिएको थियो ।


पुष्प दुलाल