मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ (भिडियो)



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो । 

पक्राउ गर्न उनको घरमा पुगेको प्रहरी टोलीसँग प्रसाईँको विवादसमेत भएको थियो । केही दिनअघि  प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । साइबर अपराध गरेको कसुरमा काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध पनि पुर्जी जारी भएको थियो ।

पछिल्लो समय प्रसाईंले ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’को नाममा गतिविधि गरिरहेका छन् ।
उनले विभिन्न उद्योगी, व्यवसायी, नेताहरुविरुद्ध अराजक टिप्पणी गर्दै आएका छन् । कतिपय नेताहरुको चरित्रहत्या गर्ने किसिमका टिप्पणी पनि सामाजिक सञ्जालमा व्यक्त गर्दै आएका छन् ।

पहिले माओवादी र पछि एमालेमा रहेर राजनीति समेत गरेका व्यवसायी प्रसाईँले एमाले नेताहरुविरुद्ध आरोप लगाउँदै आएका थिए । यसवाहेक उनले बैंक तथा वित्तीय संस्थाबारे पनि भ्रम फैलाउँदै अनर्गल प्रचार गर्दैआएका छन् ।


क्लिकमान्डु