सुमेरु सहकारी सकारेका पूर्वराजाका ज्वाइँले भने: आफ्नै सम्पत्ति बेचर भए पनि बचतकर्तालाई पैसा दिन्छु



काठमाडौं । पुलचोकस्थित सुमेरु बचत तथा ऋण सहकारी संस्था सकारेका पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहले बचतकर्ताको बचत रकम फिर्ता गरी सहकारी सञ्चालन गर्न सकिने बयान दिएका छन् ।

सहकारी छानबिनका लागि गठन भएको संसदीय समितिको प्रतिवेदनमा सिंहले संस्थाका तत्कालीन अध्यक्ष भरत महर्जन फरार भएपछि सिंहले संस्था सकारेका हुन् ।

समितिले महर्जन समितिमा उपस्थित नभएको भन्दै उनलाई ठगको सूचीमा राखेको छ भने नेपाल प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिससमेत जारी भएको छ। महर्जन बेलायतमा लुकेको जनाइएको छ ।

२३ वर्षदेखि सञ्चालनमा रहेको उक्त सहकारीको पुल्चोक, धापाखेल, गठ्ठाघर शाखा र काठमाडौं महानगरपालिका कालिमाटीमा रहेको त्यही नामको संस्थाले बचतकर्ताको १० अर्ब ३४ करोड ७ लाख ३९ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ ।

समितिसँगको बयानमा सिंहले सहकारीमा आवद्ध विरेन्द्र महर्जनले आफूलाई सहकारीको बारेमा जानकारी दिएको र त्यसपछि यस सहकारीको वित्तीय विवरण हेरेपछि बचतकर्ताको बचत रकम फिर्ता गरी सहकारी सञ्चालन गर्न सक्ने लागेपछि सहकारी लिएको उनको भनाइ छ ।

‘विरेन्द्र महर्जनले मलाई साधारण सेयरबाट सुरुवात गर्न भन्नु भयो र मैले सोही अनुसार गरेँ । यस सहकारीको सम्पत्तिको बारे भन्नु पर्दा सहकारीको व्यालेन्स सिटमा सम्पत्ति र दायित्व नमिलेकोले सहकारीले यसअघि कायम गरेका सञ्चालक समितिलाई जानकारी गरी विस्तृत कुरा नबुझेसम्म म सेयर होल्डरमै बस्ने निर्णय गरेको हुँ ।’

पछिल्लो साधारणसभा पछि सहकारी संस्थालाई कालोसूचीमा राखि खाता रोक्का भएको उनले बताए ।

खाता सञ्चालन गर्न दिइएको खण्डमा भरत महर्जनले सहकारी बचत रकमबाट आर्जन गरेको सम्पत्ति फिर्ता दिए सहकारीको समस्या चाडो समाधान गर्न सकिने उनले बताए ।

सिंहले २०८१ जेठ १७ गते सुमेरु बचत तथा ऋण सहकारी संस्था सञ्चालनको जिम्मेवारी लिने सहमति गरेका थिए ।

उनले हाल सञ्चालनमा समस्या परेको सुमेरु सञ्चालनका लागि सहकारीको देखाइएको सम्पत्तिको मूल्यांकनले बचतकर्ताको रकम फिर्ता दिन सकिने बताए ।

उनले आफ्नो सम्पत्ति बचेर भए पनि बचतकर्ताको बचत सेटल गर्ने बयानमा जनाएका छन् ।

‘सहकारीको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता दिनेभन्दा पनि हालका लागि आवश्यक परे मेरो निजी सम्पत्तिद्वारा बचतकर्ताको आंशिक रकम सेटल गर्ने र बचतकर्ताको विश्वास जिति क्रमिक रुपमा सहकारीलाई नियमित सञ्चाल गर्ने योजना छ ।’

भरत महर्जनविरुद्ध रेडकर्नर नोटिस जारी भएको र उनको सम्पत्तिलाई सहकारी ल्याउने बारे विरेन्द्र महर्जनले कुरा गरेको आफूलाई भनेको उनको बयानमा उल्लेख छ ।

उनले सहकारीलाई सरकारले कालोसूचीबाट हटाउने र समस्या समाधानका लागि कानुनी कारबाही केही समय स्थगित गरी समय व्यवस्थापन गरिदिए सहकारीको समस्या समाधानमा सहज हुने भन्दै उनले पहिला आफ्नै निजी सम्पत्ति राखि सुरुवात गर्ने सोचेको जनाएका छन् ।

भरत महर्जन परिवारका सबै सदस्य, नागागोता, आफन्त मिलेर चलाएको सहकारीको बचत विद्यालय, अस्पताल, होटल, घर जग्गा, रेष्टुरेन्ट लगायत अन्य कम्पनीमा लगानी रहेको छ ।


क्लिकमान्डु