मितेरी सहकारी ठगी प्रकरणः पत्‍नीले ठगेको १५ करोड नतिर्न धनराजको देखावटी डिभोर्स !



पूर्वमन्त्री धनराज गुरुङले श्रीमतिसँग सम्बन्ध बिच्छेद भएको दाबी गरे पनि सम्बन्ध बिच्छेद गरेको भनिएको मितिपछि पनि हकवालाको रुपमा श्रीमति ज्योतीकै नाम राखेर २ पटकसम्म सहकारीबाट ऋण लिएका थिए ।

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्व कानूनमन्त्री धनराज गुरुङले सहकारी ठगीबाट बच्नका लागि श्रीमति ज्योती गुरुङसँग व्यवहारिक रुपमा नभएर कागजी रुपमा मात्रै सम्बन्ध बिच्छेद गरेको तथ्य बाहिरिएको छ ।

ललितपुर महानगरपालिका महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको तत्कालीन महाप्रबन्धक ज्योती गुरुङ संस्थाबाट १४ करोड ८१ लाख ६३ हजार ४१८ रुपैयाँ ठगेर २०७६ माघदेखि फरार रहेकी छन् ।

सहकारीका अध्यक्ष कुम्मराज गुरुङले संस्थाको महाप्रबन्धक ज्योती गुरुङ २०७६ माघदेखि संस्थाको उक्त रकम ठगेर सम्पर्क बाहिर रहेको बताए ।

२०७० सालमा सहकारीमा लेखा प्रबन्धक हुँदै महाप्रबन्धक बनेकी ज्योतीले २०७६ मा विभिन्न १३८ भन्दा बढी बचतकर्ताको १२ करोड ५० लाख रुपैयाँ अपचलन गरेकी हुन् । संस्थाबाट बचतकर्ताको पैसा अपचलन भएपछि समिति नै बनाएर छानबिन गरिएको थियो ।

‘मितेरी बचत तथा ऋण सहकारी संस्थामा प्रस्तुत रकम हिनामिना छानबिन समिति’ले २०७९ फागुन पहिलो साता बुझाएको प्रतिवेदनमा गुरुङले १२ करोड ५० लाख ठगेको उल्लेख छ । समितिले दिएको प्रतिवेदनमा यथाशीर्घ लेखापरीक्षण गराई रकम यकिन गर्न सुझाव दिएको थियो । पछि लेखापरीक्षण गर्दा गुरुङले १४ करोड ८१ लख ६३ हजार ४१८ रुपैयाँ ठगेको तथ्य फेला परेको हो । ज्योती सहकारीको उक्त रकम ठगेर २०७६ माघ १८ देखि फरार बनिन् ।

यो सबै थाहा पाएपछि पूर्वमन्त्री गुरुङले २०७६ फागुन २९ गते सम्बन्ध बिच्छेद गरेका थिए । उनले पूर्वपत्नी ज्योतीसँग सम्बन्ध बिच्छेद गरेको विषय संसदमा समेत जानकारी गराएका छन् । उनले यसअघि आफ्नो सम्बन्ध बिच्देको कारण सहकारीका अध्यक्ष कुम्भराज गुरुङ भएको आरोप लगाएका थिए । प्राप्त प्रमाण अनुसार उनले श्रीमतिले अपचलन गरेको करिब १५ करोड रुपैयाँ पचाउन सम्बन्ध बिच्छेद गरेको पाइएको छ ।

गुरुङले यसअघि क्लिकमाण्डुसँगको कुराकानीमा आफूले २०७६ फागुन २९ गते सम्बन्ध बिच्छेद भएको र त्यसपछि सम्पर्क नभएको दाबी गरेका थिए । प्राप्त प्रमाणका आधारमा उनको भनाइ गलत साबित भएको छ । उनको भनाइ र प्रमाण हेर्दा श्रीमतिले सहकारीबाट ठगेको पैसा अपचलन गर्न सम्बन्ध बिच्छेद भएको अधिकांशको ठहर छ ।

२०७६ फागुन २९ गते सम्बन्ध बिच्छेद गरेको दाबी गरेका धनराजले मितेरी सहकारीबाट २०७७ माघ २० गते पनि १८ लाख १० हजार रुपैयाँ कर्जा लिएका थिए । कर्जामा हकवालाको नाम ज्योती गुरुङ रहेको छ भने नातामा श्रीमति भन्ने उल्लेख छ ।

यस्तै धनराजले सहकारीबाट २०७७ साल फागुन ३ गते १२ लाख रुपैयाँ कर्जा लिएका थिए । त्यसमा पनि हकवालाको नाम ज्योती गुरुङ र नातामा श्रीमति भन्ने उल्लेख छ ।

यसले पनि धनराजले श्रीमतिसँग सम्बन्ध बिच्छेद सहकारीको पैसा नतिर्नकै लागि गरेको भन्ने देखिन्छ । सम्बन्ध बिच्छेद गरेको १ वर्षपछि निकालेको कर्जाको हकवालामा श्रीमति र नातामा पनि श्रीमति नै भन्ने उल्लेख छ । तर, धनराजले सम्बन्ध बिच्छेद भएपछि सम्पर्क नभएको बताउँदै आएका छन् । ज्योतीले सहकारी र सहकारीका बचतकर्तालाई गठेको पैसामा आफू नजोडिनका लागि गुरुङले सम्बन्ध बिच्छेद गरेको सहकारीका सञ्चालकको दाबी छ । कागजातले पनि त्यही पुष्टि गरेको छ ।

धनराज उक्त सहकारीमा २०५८ साल कात्तिक ११ गते सेयरधनी बनेका थिए । संस्थामा उनको ३४ हजार ३३३ रुपैयाँको सेयर स्वामित्व छ । धनराजकी पूर्वश्रीमति ज्योति गुरुङ २०७६ फागुन १२ गतेदेखि कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकी छन् ।

२०७६ फागुन २९ गते धनराज र ज्योतीबीच भएको देखावटी डिभोर्स ।
डिभोर्स भएको १ वर्षपछि २०७७ माघ २० गते ज्योती गुरुङलाई पत्नीकै हैसियतमा हकवाला बनाएर धनराज गुरुङले ऋण लिएको तमसुक ।
डिभोर्स भएको १ वर्षपछि २०७७ फागुन ३ गते ज्योती गुरुङलाई पत्नीकै हैसियतमा हकवाला बनाएर धनराज गुरुङले ऋण लिएको तमसुक ।


सोभित थपलिया