नेपालमा ७ हजारले वर्षेनी गर्छन् आत्महत्या, यस्ता छन् रोकथामका उपाय



आज विश्व आत्महत्या रोकथाम दिवस । ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौं, दृष्टिकोण बदलौं’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विविध कार्यक्रम गरि आत्महत्या रोकथामबारे चेतनामूलक कार्यक्रम गरिँदैछ ।

कुनै घातक विधि अपनाएर आफूले आफ्नै ज्यान वा प्राण लिनु आत्महत्या हो । घातक विधि भन्नाले विष सेवन गर्नु, हतियार प्रयोग गर्नु, झुण्डिनु आदि पर्दछन् । नेपालमा वर्षेनी यस्ता कारणबाट धेरै मानिसले आत्माहत्या गरेका हुन्छन् ।

नेपालमा सरदर प्रतिवर्ष सात हजार मानिसले वर्षेनी आत्महत्या गरेको देखिन्छ । विस्तृत रुपमा हेर्दा विगत ३ आर्थिक वर्षको आत्महत्याको तथ्यांक हेर्दा यस्तो पाइन्छ ।
आव २०७८/०७९ – ६८३०
आव २०७९/०८० – ६९९३
आव २०८०/०८१ – ७२२१

माथिको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष आत्महत्याको दर बढ्दै गइरहेको छ । गत आव अर्थात् आव २०८०/०८१ को तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गरेको पाइन्छ । गत आवको आत्महत्याको दरलाई निम्नअनुसार प्रस्तुत गरिएको छ ।
झुण्डिएर – ८५ प्रतिशत
विष खाएर – १३ प्रतिशत
हाम फालेर – ०.७ प्रतिशत
डुबेर – ०.६६ प्रतिशत
हातहतियार प्रयोग गरेर – ०.२५ प्रतिशत
आगो लगाएर – ०.०९ प्रतिशत
करेन्ट लगाएर – ०.०१ प्रतिशत
महिलाहरुमा आत्महत्याको सोचाई धेरै आएको देखिएपनि आत्महत्या गर्ने पुरुषको संख्या महिलाको संख्याभन्दा दोब्बर देखिएको छ ।

मानिसहरु किन आत्महत्या गर्छन् ?

मानिसहरुले आत्महत्या गर्ने कारणहरु धेरै छन् । तर सबैभन्दा महत्वपूर्ण कारणका रुपमा डिप्रेसनलाई लिन सकिन्छ । लगभग ८० प्रतिशत आत्महत्याको कारण डिप्रेसन हुने गर्दछ । त्यसैले समयमै डिप्रेसनलाई चिन्न सकेमा धेरै आत्महत्याका घटनाहरु रोक्न सकिन्छ ।

डिप्रेसनका प्रमुख ३ लक्षणहरुमा मन खुशी नहुने, रमाइलो लाग्ने कुराहरुमा पनि मन नलाग्ने र शरिर थकित महसुस हुने गर्दछ । अरु लक्षणहरुमा निन्द्रा नलाग्नु, खाना रुची नहुनु, कुनै कुराको पश्चाताप हुनु, आत्मविश्वास गुम्नु आदि पर्दछन् ।

डिप्रेसन किन हुन्छ ?
१) आर्थिक समस्या
अहिलेको कोभिड पछिको समयमा मानिसको आम्दानी घट्नु, बैँकको ऋण तिर्न नसक्नु, घरखर्च चलाउन नसक्नु लगायतका कारणले डिप्रेसन भएको पाईन्छ ।

२) पारिवारिक कलह
श्रीमान श्रीमती, प्रेमी प्रेमिकाको बीचमा कुरा नमिल्नु, झगडा भइरहनु, सम्बन्ध बिग्रेर जानुपनि डिप्रेसनको कारण हुनसक्छ ।

३) कडा रोगको शिकार हुनु
ब्रेन स्टोक, क्यान्सरजस्ता रोगले ग्रस्त भएमा पनि डिप्रेसन हुनसक्छ ।

४) सोचेजस्तो गर्न नसक्नु
परीक्षा वा कुनै काममा आफूले सोचेजस्तो गर्न नसक्नु वा अरुले त्यसको कदर नगर्नुले पनि डिप्रेसन गराउन सक्छ ।
स्क्रिजोफ्रेनिया, रक्सीको कुलत, एन्टोसोसियल, पर्सनालिटी डिस्अर्डर जस्ता रोगहरुमा पनि आत्महत्या गरेको देखिएको छ ।

कसैले आत्महत्या गर्दैछ भनेर कसरी थाहा पाउने ?

– कसैले आत्महत्या गर्छ की गर्दैन भनेर पक्का भन्न त सकिँदैन तर कहिलेकाँही हामीले यस्ता संकेतहरु पाउन सक्छौँ, जसलाई ध्यान दिन सके आत्महत्या रोक्न सकिन्छ ।

– यदी कसैले मलाई मर्न मन लागेको छ वा म आत्महत्या गर्छु भन्छ भने त्यसलाई हल्का रुपमा लिनुहुँदैन । उसलाई कुन समस्याले यस्तो भयो त्यो बुझ्ने कोशिष गर्नुपर्छ ।

– कोही परिवारभन्दा अलग बस्न थाल्यो, साना साना कुरामा पनि रिसाउन थाल्यो, रुन थाल्यो भने पनि उसलाई केही समस्या छ भनेर बुझ्नुपर्छ ।

– कसैले सामाजिक सञ्जाल फेसबुक, टिकटकमा निराशाजनक अभिव्यक्तिहरु राख्छ भने पनि त्यसलाई ध्यान दिनुपर्छ ।

– हालसालै कठिन परिस्थितीबाट गुज्रिएको छ भने जस्तै, नजिकको मानिसको मृत्यु भएको वा आफूबाट टाढा भएको भए ।

– आफूलाई मनपर्ने कुराहरु पनि अरुलाई दिएको, पुराना कुराहरुमा क्षमा मागेको, इन्टरनेटमा मर्ने तरिकाहरुको बारेमा खोज गरेको र भविश्यको बारेमा कुनैपनि योजना नबनाएको छ भनेपनि याद गर्नुपर्ने हुन्छ ।

के आत्महत्या रोक्न सकिन्छ ?

माथिका संकेतहरु बुझेर उपचारमा लागियो भने धेरै मात्रामा आत्महत्या रोक्न सकिन्छ ।

मनोचिकित्सकसँग भेट र मनोपरामर्श :
मनोचिकित्सक भन्नाले मानसिक रोग जस्तै: डिप्रसन, स्क्रिजोफ्रेनिया, रक्सी गाँजाको कुलत आदिको सहि पहिचान र उपचार गर्न सक्ने विशेषज्ञ हुन् । मनोचिकित्सकले विरामीको समस्याको बारेमा बुझेर आवश्यक औषधीहरु र उचित परामर्श दिने काम गर्दछन् ।

मनोविद्ले पनि साईकोथेरापीको माध्यामबाट विरामीको मनोवल उच्च गर्ने काम गर्दछन् । नेपाल सरकारले आत्महत्याको सोच आएमा त्यसमा आवश्यक मद्दत लिनका लागि एउटा निःशुल्क नम्बर उपलब्ध गराएको छ । पाटन मानसिक अस्पतालबाट सञ्चालित ११६६ नम्बरमा फोन गरेर समस्या कसरी समाधान गर्ने सल्लाह लिन सकिन्छ ।

मानसिक रोगहरुमा मानिसहरु अस्पताल जान नखोज्ने प्रवृत्ति पनि आत्महत्या वृद्धि हुने एउटा कारण हो । त्यसको लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र अरु अस्पतालले पनि इन्टरनेटको प्रयोगबाट डाक्टरसँग भेट गर्नसक्ने प्रविधि भित्र्याएका छन् । यो पनि आत्महत्या कम गर्न सक्ने उपयुक्त विकल्प हुनसक्छ ।

(लेखक डा रोजन पोख्रेल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ हुन् ।)


क्लिकमान्डु