देशमा आर्थिक सुधारको आधार तयार हुँदैछ: अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गरेको बताएका छन् ।

सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटका क्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

भेटमा ढकालले सरकारले नेपाल उद्योग वाणिज्य महासंघले दिएको सुझावहरूलाई लिएको र नयाँ पुस्ताका सुधारहरू अघि बढाएको बताए । सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय विकास साझेदारहरूले हातेमालो गरेर आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न सकिने पनि उनको भनाइ थियो ।

ढकालले दुई संस्थाहरूले स्थानीय र अन्तर्राष्ट्रिय बजारमा व्यवसायहरूको प्रतिस्पर्धात्मकता सुधार्न मिलेर काम गर्न सक्ने पनि उल्लेख गरेका थिए । महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले संयुक्त रूपमा प्रकाशित गरेको ‘नेपालमा निजी क्षेत्रको अवस्था’ शीर्षकको प्रतिवेदनको सहकार्यबारे पनि अध्यक्ष ढकालले जानकारी दिएका थिए ।

उक्त प्रतिवेदन व्यवसायिक समुदाय र नीतिनिर्माताहरूका लागि महत्त्वपूर्ण साबित भएको पनि उनको भनाइ थियो । ढकालले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्राष्ट्रिय वित्त निगम नेपाल टोलीसँग मिलेर निजी क्षेत्रमा ईएसजी कार्यक्रम ल्याउन कार्यरत रहेको पनि बताए । यस क्रममा उनले अन्तर्राष्ट्रिय वित्त निगमको विशेषज्ञता र महासंघको स्थानीय व्यवसाय समुदायसँगको सशक्त सम्बन्धले नेपालको आर्थिक परिदृश्यमा परिवर्तन ल्याउन महत्त्वपूर्ण प्रगति गर्न सकिने विश्वास व्यक्त गरेका थिए ।

भेटको क्रममा फाखौरीले सार्वजनिक–निजी साझेदारीहरूमा थप जोड दिन आवश्यक रहेको बताएका थिए । फाखौरीले यसै समयमा नेपालले केही आर्थिक चुनौतीहरूको सामना गरिरहेको भए पनि देशका लागि धेरै अवसरहरू पनि रहेको बताए ।


क्लिकमान्डु