आईफोन १६ का सप्तरंगी मोडेलहरु, यस्ता छन् फिचर



एजेन्सी । आगामी साता अर्थात् सेप्टेम्बर १३ मा एप्पलले आईफोन १६ सार्वजनिक गर्ने भएको छ । तर एप्पलले १६ सिरिजका मोडेलहरु सार्वजनिक गर्नुअघि नै यसका विभिन्न फिचरहरु सार्वजनिक हुन थालेका छन् । कतिपय जानकारहरुले सामाजिक सञ्जालमा पनि यसबारे पोस्ट गर्दै आएका छन् ।

यद्यपि एप्पल कम्पनीले आधिकारिक रुपमा सार्वजनिक मिति घोषणा गरेको छैन । चिनियाँ सामाजिक सञ्जालमा आएका समाचारहरु अनुसार एप्पलले आईफोन १६ र आईफोन १६ प्लस विभिन्न सात रंगमा सार्वजनिक गर्दैछ । ती मोबाइलहरु सेतोसँगै गुलाबी, कालो, निलो, बैजनी, हरियो र पहेँलो रंगमा उपलब्ध हुनेछन् । नयाँ भेरिएन्टमा एप्पलले १५ को भन्दा दुई नयाँ रंग बैजनी र सेतो थपेको हो ।

यस्तै आईफोन १६ प्रो मोडेलहरु नयाँ ग्रे र गोल्ड फिनिसिङमा आउने आकलन गरिएको छ । यससँगै एप्पलले यसअघि नै आईओएस १८, म्याकओएस १५ सहित अन्य सफ्टवेयरलगायतका नयाँ फिचरहरू प्रस्तुत गरिसकेको थियो ।

आईफोन १६ का मोडेलहरु सार्वजनिक हुने समाचार आइरहँदा यसका प्रयोगकर्ताहरु उत्सुक बनिरहेका हुन सक्छन् । विशेषगरी आईफोन १६ का मोडेलहरुमा प्रयोग हुने क्यामेरा, मोबाइलको तौल, डिजाइन, ब्याट्री क्षमता र पर्फमेन्स लगायत नयाँ फिचरहरुबारे कतिपय विषय अनौपचारिक रुपमा सार्वजनिक भइसकेका छन् ।

यसका चिपसेट र क्यामेरा साथै तौलमा एप्पलले नयाँपन दिएको बताइन्छ । साथै ब्याट्री क्षमतामा पनि उल्लेख्य सुधार गरिएको बुझिएको छ । १६ का मोडेलमा शक्तिशाली ए-१८ चिपसेट उपलब्ध हुनुका साथै नयाँ आईओएस १८ अपडेटको सपोर्ट सिस्टम पनि उपलब्ध हुनेछ ।

यसैबीच आईफोन १६ प्रो र प्रो म्याक्सको डिस्प्ले भने केही ठूलो आकारको हुने बताइएको छ । तर १६, १६ प्लस, १६ प्रो र १६ प्रोम्याक्स गरी चारैवटा मोडेलमा फोटो खिच्नका लागि नयाँ क्याप्चर बटन समावेश हुनेछ ।

यस्तै आईफोन १६ प्रो मोडेलमा सुधारिएको ४७ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा पनि उपलब्ध हुने बुझिएको छ । यससँगै नयाँ डिजाइनका एप्पल वाच पनि सार्वजनिक गरिने भएको छ ।

यसवाहेक एप्पलले इयरपड्स ४ पनि ल्याउने भएको छ । यसका लागि पहिले दुई मोडेल सार्जनिक गर्ने र त्यसपछि हाइएन्ड मोडेलका इयरपड्स सार्वजनिक गर्ने बुझिएको छ । आईफोन १६, १६ प्लस, १६ प्रो र १६ प्रो म्याक्स तुलनात्मक रुपमा गह्रौं हुने पनि यसका जानकारहरुले चिनिया सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

यसैगरी आईफोन १६ प्रो र आईफोन १६ म्याक्स ६.३ देखि ६.९ इन्चमा उपलब्ध हुनेछन् भने आईफोन १६ र आईफोन १६ प्लस पहिलेकै अर्थात् १५ कै मोडेलको साइजमा रहनेछन् ।

आईफोन १६ सार्वजनिक हुन लाग्दा १५ का मोडेल सस्तो

आईफोन १६ मा नयाँ मोडेलहरु बजारमा आउने तयारी भइरहँदा आइफोन १५ मा मोडेलहरुको मूल्य भने कतिपय देशमा सस्तो हुन थालेको छ ।

नयाँ मोडेल आउने भएपछि १५ का मोडेलहरु पहिलेको तुलनामा कम मूल्यमै विक्री हुन थालेका छन् । अर्थात् ती मोडेलका लागि विक्रेताहरुले भारी छुट दिन थालेका छन् ।

विशेषगरी १५, १५ प्लस लगायतका मोडेलहरुको मूल्य घट्न थालेको बताइएको छ । विशेषगरी भारतीय विक्रेताहरुले आईफोन १५ प्लसको मोडेललाई ७५ हजार भारु (१ लाख २० हजार रुपैयाँ) मा विक्री गर्न थालेका छन् । यसरी हेर्दा भारतीय बजारमा आईफोन १५का मोडेलहरु १ हजार ५ सय भारु छुटमा विक्री हुन थालेका छन् ।


क्लिकमान्डु