चिनियाँ दर्जन ब्राण्डसँग प्रतिस्पर्धा गरिरहेको टाटा पन्च ईभीमा क्रेज, ४७५ युनिट बुकिङ



काठमाडौं ।  चिनियाँ विद्युतीय सवारीसाधनको क्रेजको प्रतिस्पर्धा गरिरहेको भारतीय कम्पनी टाटा उपभोक्ताहरुको रोजाइमा परेको छ ।  

नाडा अटो शो- २०२४ मा यो कम्पनीको ६४४ युनिट बुकिङ भएको छ । टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ अनुसार टाटा पन्च ईभी ४७५ र टियागो ईभी १६९ बुकिङ भएको छ । कम्पनीले यो बुकिङलाई उत्साहजनक भनेको छ ।

अटो शो को पहिलो दिन टाटा पन्च ईभी १०० युनिट बुकिङ भएको थियो । चिनियाँ चम्किला कारहरुमा टाटा पन्च ईभी लोकप्रिय हुनुकारण- यो सस्तो मूल्यमा पाइने एसयुभी ईभी हो । सिप्रदी लिगेसी भएको व्यवसायिक घराना हो । यो घरानामा मानिसहरुले विश्वास गर्छन् । चिनियाँ ईभीको विकल्पमा उनीहरुले यो कार मनपराईरहेको बुझिएको छ । धेरैले चिनियाँ राम्रो भएपनि भविष्य के हो भन्दै प्रश्न गर्नेछन् ।

नेपाली बजारमा पन्च ईभी तीन भेरियन्टमा उपलब्ध हुने छ । पन्च ईभी इमपावर्ड प्लस एस एमआर ३३ लाख ९९ हजार, पन्च ईभी इमपावर्ड एलआरको मूल्य ३६ लाख ९९ हजार र पन्च ईभी इमपावर्ड प्लस एसएलआर ३८ लाख ९९ हजार पर्ने छ । पन्च ईभी इमपावर्ड प्लस एस एमआर भने नेपाली बजारमा उपलब्ध छैन् ।

उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त रहेको कम्पनीले दाबी गरेको छ । साथै, पर्यावरणमैत्री एवं खर्चको दृष्टिकोणले किफायति रहेको छ ।

एक विशेष इलेक्ट्रिक एसयूभीमा हुनुपर्ने हरेक गुण पन्च इभीमा रहेको कम्पनीको भनाइ छ । १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्‍याम्प ओभर एंगल्स लगायतका बिशेषताहरु रहेका छन् । यसका साथै यस गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको कम्पनीले जनाएको छ ।

भारतमा लोकप्रिय टाटा पन्च मासिक रुपमा अठार हजार युनिटभन्दा बढी बिक्री भइरहेको कम्पनीले जनाएको छ । यस गाडी भारतीय अटो बजारमा कम्प्याक्ट एसयूभीको रुपमा स्थापित भएको छ ।

पन्च सर्ट रेन्ज (एसआर) सर्ट रेन्ज मोडलमा २५ किलोवाट आवरको ब्याट्री छ । जुन टियागो ईभीकोभन्दा १ किलोवाट आवर ठूलो ब्याट्री हो ।

लङ रेन्ज मोडलमा ३५ किलोवाट आवरको ब्याट्री  छ । पन्च ईभीको स्ट्याण्डर्ड भेरियन्टमा ६० किलोवाटको मोटर छ । यसले ८२ हर्स पावर र ११४ न्युटन मिटर टर्क जेनेरेट गर्छ । लङ रेन्ज भेरियन्टमा ९० किलोवाटको इलेक्ट्रिक मोटर दिइएको छ। यसले १२२ हर्स पावर र १९० न्युटन मिटर टर्क जेनेरेट गर्दछ ।

मंगलबार राजधानीको भृकुटी मण्डपमा सुरु भएको नाडा अटो शो आइतबार समापन भएको छ ।


क्लिकमान्डु