सबै चिज विदेशबाट किन्ने प्रबृत्तिले देशको अर्थतन्त्र खोक्रो हुन्छ: एमाले महासचिव पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो बन्ने बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल बुद्धिजीवि परिषद् केन्द्रीय महिला विभागद्वारा आयोजित सामाजिक रुपान्तरणका लागि तिज समसामयिक विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सबै चिज बाहिरबाट ल्याउने र त्यसमा पैसा खर्च गर्ने प्रवृत्तिले अर्थतन्त्र बलियो नबनाउने उनको तर्क थियो । अहिले आम्दानीको मुख्य श्रोत नै श्रम किनबेच रहेको भन्दै नेता पोखरेलले श्रम बेचेर कमाइ गर्ने र सामान किनेर खर्च गर्ने कुरा स्वाधिनता र सार्वभौमसत्ताका लागि अनुकुल ढाँचा नभएको बताए ।

यसले देशलाई कमजोर र खोक्रो बनाइरहेको उनको गुनासो थियो । यसका लागि देशभित्रै उत्पादन प्रयोग गर्ने संस्कृति निर्माण गर्नुपर्ने उनको धारणा थियो । चाडपर्वहरुले अर्थतन्त्रलाई चलायमान बनाउन पूजा कोठामा प्रयोग गर्ने सामानहरु स्वदेशमै उत्पादित हुनुपर्ने पनि उनको भनाइ थियो ।

पोखरेलले देशभित्रको उत्पादनलाई प्रयोग नगरी बाहिरबाट सामान आयात गर्ने कुरा संस्कृति विपरीतको कार्य भएको पनि बताएका थिए ।

‘नेपालको आफ्नै उत्पादन आधारित किनबेच हुन्छ भने त्यसले अर्थतन्त्र बलियो बनाउँछ । तर आज हामी के गरिरहेका छौँ, सबै चिज बाहिरबाट ल्याउने र त्यसमा पैसा खर्च गर्ने । कमाइको मुख्य श्रोत बनेको छ । मान्छे बाहिर पठाएर श्रम बेचेर कमाइ गर्ने, सामान किनेर खर्च गर्ने । हाम्रो समाजको जुन प्रकारको ढाँचामा गइरहेका छौँ, यो ढाँचा हाम्रो स्वाधिनता र सार्वभौमसत्ताका लागि अनुकुल ढाँचा होइन,’ पोखरेलले भने ।

यसले हाम्रो देशलाई कमजोर र खोक्रो बनाइरहेको उनको भनाइ थियो । देशभित्रै उत्पादन प्रयोग गर्ने संस्कृति निर्माण गर्ने हो भने चाडपर्वहरुले अर्थतन्त्रलाई चलायमान बनाउने उनले बताए ।

पोखरेलले भने, ‘हाम्रो पूजा कोठामा प्रयोग गर्ने सामानहरु भारत, चीनबाट ल्याएको सामान प्रयोग गर्ने कुरा संस्कृति विपरीत कार्य हो भन्ने बुझाउन सकियो भने राम्रो हो । हाम्रै उत्पादन चढाउने, भगवानलाई । हाम्रो चाडपर्वहरुको मक्सद आफूले गरेका उत्पादनहरुको पहिलो भोग भगवानलाई दिने भनेको हो । संस्कृतिको आधार त्यो हो ।’


क्लिकमान्डु