व्यवसायीहरु भन्छन्: अर्थतन्त्र चलायमान बनाउन निर्माण उद्योगमा जोड दिनुपर्छ



काठमाडौं । मुलुकको अर्थतन्त्र चलायमान बनाउन निर्माण उद्योगलाई चलायमान बनाउन आवश्यक रहेको व्यवसायीहरुले बताएका छन् ।

बिहीबार काठमाडौंमा युवा निर्माण व्यवसायी समुदायले आयोजना गरेको कार्यक्रममा बोल्दै व्यवसायीहरुले यस्तो बताएका हुन् ।

उनीहरुले पछिल्लो समय अर्थतन्त्रमा देखिएको शिथिलता हटाउन निर्माण उद्योग चलायमान हुन जरुरी रहेको बताए । व्यवसायीहरुले निर्माण उद्योग चलायमान हुन सरकारले निर्माण उद्योगलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी समयमा गर्न नसक्दा पनि अर्थतन्त्र चालयमान हुन नसकेको उनीहरुको गुनासो छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले निर्माण क्षेत्र सरकारको प्राथमिकतामा नगरेको महशुस भएको बताए । उनले मुलुकमा पूर्वाधार निर्माणको लागि निर्माण क्षेत्रलाई प्राथमिकतामा राख्न जरुरी रहेको उल्लेख गरे । हरेक वर्षको बजेटमा आवश्यकता पहिचान विना नयाँ आयोजनाहरु थप हुने तर पछि बजेट अभाव हुँदा आयोजनाहरु रुग्ण बन्ने अवस्था आउने गरेको बताए ।

यस्तो समस्या आउन नदिनको लागि सरकारले आवश्यकता र औचित्यको आधारमा आयोजनाहरु छनोट गर्न आवश्यक रहेको उनले औल्याए । तीन तहका सरकार हुँदा पनि कसले पूर्वाधार बनाउने र जिम्मेवारी कसले लिने भन्ने अन्योल रहेको भन्दै पूर्वाधार निर्माण गर्दा तीन तहका सरकारले आवश्यकता र पुँजीको आधारमा छनोट गर्नु उचित हुने उनको भनाइ थियो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योग शिथिल,आर्थिक उपार्जनमा आएको संकट र सरकारले भुक्तानी गर्न नसकेको कारणले गर्दा निर्माण उद्योग समस्यामा परेको बताएका थिए ।

उनले निर्माण उद्योगमा परेको समस्याले सप्लाई चेन लगायत सहयोगी हातहरु पनि समस्यामा परेको उल्लेख गरे । उनले मुलुकको अर्थतन्त्र चलायमान बनाउन निर्माण उद्योगलाई चलायमान बनाउनुपर्ने बताए ।

यस क्रममा अध्यक्ष सिंहले युवा निर्माण व्यवसायीहरुले निर्माण उद्योग चलायमान बनाउने महत्वपूर्ण भूमिका निवाह गर्ने अपेक्षा गरेको पनि बताए । युवा निर्माण व्यवसायी समुदायको छैटौं अधिवेशनबाट वसन्तबहादुर चन्दको नेतृत्वमा १५ जनाको कार्यसमिति चयन गरेको छ ।


क्लिकमान्डु