बिमा दाबी भुक्तानीलाई सरल, छिटोछरितो बनाउन प्राधिकरणले सहजीकरण गर्नुपर्योः मन्त्री सारू



काठमाडौं । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले प्रदेश सरकारले नेपाल बिमा प्राधिकरणसँग समन्वय गरेर ‘प्रदेश बीमा नीति’ ल्याउने बताएका छन् ।

लुम्बिनी प्रदेशको राप्ती उपत्यकामा ‘प्रदेश सरकारसँग नेपाल बीमा प्राधिकरण’ विषयक छलफल कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले कृषि तथा पशुपन्छी बीमा र स्वास्थ्य बीमामा समस्या रहेको उल्लेख गर्दै बीमा दाबी भुक्तानीलाई सरल र छिटोछरितो तुल्याउन प्राधिकरणले सहजीकरण गर्नुपर्ने आवश्यकता औंल्याए ।

लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थले नागरिकले बीमा सेवा सुविधा सजिलै प्राप्त गरेमा बीमाप्रतिको विश्वास बढ्ने भएकाले बीमा कम्पनीहरूले त्यसतर्फ ध्यान दिनुपर्ने र बीमा दाबी भुक्तानी समयमैं दिनुपर्ने बताए ।

कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास एवम् विस्तारमा प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न प्राधिकरण तयार रहेको बताए । नागरिकको हितलाई ध्यानमा राखेर सामूहिक दुर्घटना बीमा र घर बीमा गर्न प्रदेश सरकारलाई सुझाव दिए ।

अध्यक्ष सिलवालले बीमाबाट हुने फाइदाका बारेमा बुझेर ‘प्रदेश बीमा नीति’ निर्माणमा लाग्न आग्रह गरे । विपद्लाई बीमासँग जोडेर काम गर्दा बढी आर्थिक सुरक्षण प्रदान गर्न सकिने भएकाले त्यस कार्यमा सहयोग गर्न प्राधिकरण तयार रहेको बताए ।

कार्यक्रममा सहभागीहरूले बीमितले समयमै दाबी भुक्तानी नपाएको, दाबी भुक्तानी प्रक्रिया झन्झटिलो रहेको, जीवन बीमा नवीकरण गर्न ढिला भएमा कम्पनीले धेरै ब्याज लिने गरेको, विदेशी बीमा कम्पनीमा बीमा गर्ने प्रचलन अझै पनि नहटेको लगायतका समस्या राखेका थिए ।

बीमा अभिकर्तालाई बढी जिम्मेवार बनाउनुपर्ने र कृषि तथा पशुपन्छी बीमालाई प्राथमिकतामा राखी कार्य गर्नुपर्ने आवश्यकता उनीहरूले औंल्याए ।


क्लिकमान्डु