उद्योगमन्त्रीको दाबी: २ वर्षभित्र देशलाई विकासशील राष्ट्र बनाउँछौं



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नती हुने दाबी गरेका छन् ।

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । मुलुकको उद्योग,व्यापार,वैदेशिक अनुदान,रोजगारी सिर्जना र अन्य नीतिहरुमा समेत काम गरिरहेको उनको भनाइ थियो ।

मन्त्री भण्डारीले मन्त्रालयले वाणिज्य क्षेत्रका अहिलेका व्यापार नीतिहरुमा कूटनीतिक पहल गर्ने काम गरिरहेको बताए । उनले सरकारले दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी प्राथमिकताका साथ तयारीका गरी विकासशिल राष्ट्रको सूचिमा सुचिकृत हुने तयारी गरेको बताए ।

भूपरिवेष्ठित,वाणिज्य नीति,अन्तरदेशीय सम्झौता लगायतका समस्याका विषयमा विमस्टेकमा पनि स्पष्ट रुपमा धारणा राखेको स्मरण गराउँदै उनले नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा स्तरउन्नतिले पार्ने चुनौती र असरका दुवै रहेको बताए ।

मुलुकको अर्थतन्त्रमा १३ प्रतिशत योगदान गरेको उद्योग क्षेत्र अहिले खुम्चिएर ४ देखि ५ प्रतिशतको आसपासमा पुगेको भन्दै उनले त्यसको लागि अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान बढाउन आवश्यक रहेको र त्यसको लागि लगानीमैत्री नीति बनाउनुपर्ने बताए ।

‘मुलुकको अर्थतन्त्रमा कुनै बेलामा १३ प्रतिशत योगदान थियो । आज त्यो खुम्चिएर ४ देखि ५ प्रतिशतको आसपासमा पुगेको छ । मुलुकको उत्पादन र उत्पादकत्व घटेको छ । कृषिको योगदान घटेको छ । यसले मुलुकको जिडिपीमा जसरी वृद्धि हुनुपर्ने हो । त्यसरी बढ्न सकेन । यो विषयमा सरकार संवेदनशिल छ । सरकारको नीति तथा कार्यक्रममा कृषि दशकको रुपमा घोषणा गरेको छ । त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र अहिलेको चुनौती पार गर्न सबैभन्दा पहिला प्राथमिकता उत्पादन र उत्पादकत्व वृद्धि गर्ने हो । त्यसमा दुई वटा क्षेत्रहरु कृषिमा आधारित उद्योगलाई प्रोत्साहन गरी आवश्यक नीतिहरुलाई परिमार्जनमा केन्द्रित हुनुपर्ने,उद्योगको योगदान जीडिपीमा बढाउनु पर्ने आवश्यकता छ,’ मन्त्री भण्डारीले भने ।

यस्तै मन्त्रालयले ६ महिना र एक वर्षमा सुधारको केही तयारीहरु गरेको भन्दै सरकारले दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी प्राथमिकता र तयारीका साथ विकासशिल राष्ट्रको सूचीमा अग्रसर हुन सबै प्रकारका प्रयास गर्ने बताए ।


क्लिकमान्डु