चिनियाँ ब्राण्ड जोइलोङ तथा एसआरएम गाडी अब नेपालमा



काठमाडौं । भिजी मोटर्स कम्पनीले नाडा अटो शोलाई लक्षित गर्दै प्रख्यात चिनियाँ विधुतीय गाडी (ईभी) उत्पादन कम्पनी जोइलोङ तथा एसआरएमका ८ वटा नयाँ मोडलहरुलाई नेपाली बजारमा प्रवेश गराएको छ ।

काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यी ८ वटा मोडलहरुले नेपाली उपभोक्तालाई आवश्यक कमर्सियल गाडीहरुका माग पूरा गर्नेमा कम्पनी विश्वस्त रहेको जनाएको छ । जोइलोङ तथा एसआरएम मित्र राष्ट्र चीनको सबैभन्दा ठूला कमर्सियल गाडी उत्पादन गर्ने कम्पनीका रुपमा चिनिन्छ ।

गाडी खरिद गरेपछि उपभोक्ताले विक्रीपछिको सेवा तथा पार्टपुर्जाको उपलब्धतामा दुःख पाउने सम्भावनालाई पनि मध्यनजर गरी भिजी मोटर्सले चीनको अत्याधुनिक उद्योगमा, विश्वस्तरीय गुणस्तरमा आफैंले गाडी उत्पादन गर्ने कम्पनी जोइलोङ तथा एसआरएमका गाडीहरु नेपालमा भित्र्याएको हो । जसकारण कमर्सियल गाडी खरिद गरेपछि आगामी १५/२० वर्षसम्म यी कम्पनीहरुले राम्रो सेवा तथा पार्ट्सको उपलब्धता सुनिश्चित गर्न सक्ने बताइएको छ ।

जोइलोङ कम्पनीका ठूला १५, १७ र २० सिटर माइक्रो बस अनावरण गर्दै महाप्रबन्धक ज्याङले भने, “जोइलोङका ठूला माइक्रो बसहरु वर्षौंदेखि अनुसन्धान तथा परीक्षण गरी डिजाइन गरिएको हुन्छ ।
जस्तोसुकै बाटोमा चलाउन सकिने गरी डिजाइन गरिएको छ ।’

हाल जोइलोङका गाडीहरु विकसित मुलुकहरु अस्ट्रेलिया, सिंगापुर, मलेसिया जस्ता देशहरुमा अत्यधिक रुचाइएका छन् । बजारमा उपलब्ध अन्य गाडीहरु भन्दा जोइलोङका गाडीमा जडान गरिएको पावरफुल मोटर र ठूलो ब्याट्रीले अत्यधिक रेन्ज दिने गरेको महाप्रबन्धक ज्याङले बताए ।

पत्रकार सम्मेलनमा भिजी मोटर्सले चीनको प्रख्यात कम्पनी एसआरएमबाट उत्पादित नेपाली बजारको मागलाई मध्यनजर गरी ५ वटा विभिन्न प्रकारका गाडीहरु पनि अनावरण गरेको छ । यी ५ वटा मोडलहरुमा टी–३ पिक अप र २ सिटर कार्गोले सामान ढुवानी गर्ने भ्यान तथा ५ सिटर र ११ सिटर भ्यान रहेका छन् ।

कार्यक्रममा बोल्दै एसआरएम कम्पनीका महाप्रबन्धक लि ग्वाले भने, “साना कमर्सियल र विधुतीय कमर्सियल गाडीहरु सबै बाहिरबाट हेर्दा उस्तै देखिए पनि एसआरएम कम्पनीबाट उत्पादन गरिने गाडीहरु सबै भन्दा सुरक्षित, टिकाउ तथा बलियो बडीका साथ बनाइन्छ । नेपाल सरकारले एयर ब्याग अनिवार्य नगरे पनि राजमार्गमा चल्ने सबै एसआरएम गाडीमा एयर ब्याग तथा एबीएस जस्ता सुरक्षाका उपकरणहरु जडान गरेर पठाउने गरेको छ ।”


क्लिकमान्डु