कामदारले अफिस टाइमपछि मालिकको फोन उठाउनु नपर्ने कानुन कार्यान्वयनमा, नेपालीलाई के फाइदा ?



एजेन्सी । अष्ट्रेलियामा कामदारहरुले कार्यालयको काम सकिएपछि आफ्ना मालिक वा रोजगारदाताको फोन वा म्यासेज इग्नोर गर्न मिल्ने कानुन कार्यान्वयनमा आएको छ । दिनभर कार्यालयको काम सकेर घर फर्किएपछि निजी समयमा रोजगारदाताको फोन वा म्यासेजका कारण दबाब महसुस गर्ने मानिसहरु यो कानुनबाट लाभान्वित हुने अपेक्षा गरिएको छ ।

व्यक्तिगत समयमा यदी मालिकको फोन वा म्यासेज रेस्पोन्स नगर्दा दण्डित हुनु नपर्ने सुविधा नयाँ कानुनले दिएको छ । गत वर्ष प्रकाशित एक सर्वेक्षणका अनुसार आम अष्ट्रेलियन नागरिकले वार्षिक रुपमा २८१ घण्टा बेतलबी ओभरटाइम काम गरेको पुष्टि भएको थियो । विशेषगरी युरोप र ल्याटिन अमेरिकाका २० भन्दा धेरै देशहरुमा यस्तै नियम छ ।

यद्यपि रोजगारदाता वा मालिकलाई आफ्ना कामदारलाई कार्यालय समय सकिएपछि पनि फोन गर्न भने यो कानुनले प्रतिबन्ध लगाएको छैन । नयाँ कानुन अनुसार ‘बोस’को फोन वा म्यासेज रिप्लाइ गर्नैपर्ने बाध्यता उनीहरुलाई छैन । तर यो नियममा रोजगारदाता र कामदारबीच विवाद भए उनीहरुले नै आपसी सहमति खोज्नुपर्ने भनिएको छ । यदी यसरी समाधान ननिस्किए अष्ट्रेलियाको फेयर वर्क कमिसन (एफडब्लुसी) ले कदम चाल्न सक्नेछ ।

यस्तो अवस्थामा एफडब्लुसीले रोजगारदातालाई आफ्ना कामदारलाई उनीहरुको कार्यालय समयपछि फोन नगर्न वा म्यासेज नपठाउन निर्देशन दिनसक्छ । एफडब्लुसीको आदेश पालना नगरेको खण्डमा कामदारको हकमा १२ हजार ८९७ सम्म अमेरिकी डलर र रोजगारदाता वा कम्पनीलाई ९४ हजार अमेरिकी डलरसम्म जरिवाना हुनेछ ।

कामदारको हितमा काम गर्ने अष्ट्रेलियाका संघसंस्थाले यस्तो कानुनको स्वागत गरेका छन् । नयाँ कानुन अनुसार कामदारले रोजगारदाताको फोन नउठाउँदा वा म्यासेज रिप्लाइ नगर्दा त्यसको कारण पनि खुलाउनु पर्दैन ।

कर्मचारी वा कामदारलाई फाइदा हुने कुनै पनि सुविधाले अन्तत: रोजगारदाता वा कम्पनीलाई पनि फाइदा पुर्‍याउने भन्दै उनीहरुले यस्तो नियमको प्रशंसा गरेका छन् । कतिपयले नयाँ कानुनको आलोचना पनि गरेका छन् ।

श्रम सम्बन्धी यस्तो नियमबाट अष्ट्रेलियामा रहेका करिब १ लाख नेपाली कामदार पनि लाभान्वित हुनेछन् ।

लाखौं युवाहरु वैदेशिक रोजगारीमा पठाएको देश नेपालको सन्दर्भमा कुनै पनि कम्पनीले वा रोजगारदाताले आफ्ना कामदारलाई कार्यालय समयपछि ओभरटाइम लगाए वापत थप पारिश्रमिक दिनुपर्ने नियमलाई श्रम ऐनले सुनिश्चित गरेको छ । यस्तो नियम व्यवहारमा भने कमै मात्रामा लागु हुने गरेको छ।

अष्ट्रेलियामा जस्तो कार्यालय समयपछि मालिकको फोन वा म्यासेज रेस्पोन्स गर्नु नपर्ने विषयमा कामदारको अधिकारका विषयमा श्रम ऐनले केही उल्लेख गरेको छैन ।


क्लिकमान्डु