लेबनानमा इजरायल-हिजबुल्लाह युद्ध चर्किँदै, तर शान्ति सेनाको नेपाली फौज सुरक्षित



लेबनानमा रहेको हिजबुल्लाह समूह र इजरायलबीच रकेट आक्रमण तीब्र भइरहेका बेला शान्ति सेनाको रुपमा त्यहाँ खटिएको नेपाली फौज भने अहिलेसम्म सुरक्षित रहेको जनाएको छ

एजेन्सी । हिजबुल्लाह समूहले आइतबार बिहान इजरायलविरुद्ध ठूलो मात्रामा ड्रोन आक्रमण गरेको छ ।

बेरुतमा आफ्ना एक वरिष्ठ कमाण्डरको हत्याको बदलास्वरूप आक्रमण भएको हिजबुल्लाहले प्रतिक्रिया दिएको छ । यस आक्रमणले उत्तरी इजरायलमा हवाई आक्रमणको साइरन बजाएको थियो ।

यसअघि आइतबार इजरायल डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता ड्यानियल हगारीले इजरायलले लेबनानमा हवाई आक्रमणको एक श्रृंखला सुरु गरेको बताएका थिए । इजरायली हवाई हमलाले लेबनानी हिजबुल्लाह समूहको कब्जामा रहेको स्थानलाई लक्षित गरी पूर्व–एम्प्टिभ कदम चालेको थियो ।

यसैबीच हिजबुल्लाह समूह र इजरायली सैनिकबीच तीब्र रुपमा मिसाइल आक्रमणले मध्यपूर्व क्षेत्रमा तनाबको अवस्था सिर्जना भएको छ । पछिल्ल केही घण्टाको अवधिमा नै हिजबुल्लाहले उत्तरी इजरायलमा सयौं मिसाइल प्रहार गरेको बताइएको छ । लेबनानसँग तनाव बढेपछि इजरायलमा भने ४८ घन्टाका लागि संकटकाल घोषणा गरिएको छ ।

बेरुतमा हिजबुल्लाहका कमाण्डरको हत्यापछि त्यसको बदलामा हिजबुल्लाहले इजरायविरुद्ध निरन्तर आक्रमण गरेको छ । इजरायले भने जेट विमानबाट पनि प्रत्याक्रमण गरिरहेको छ । पछिल्लो केही दिनयता दुई देशबीच तीब्र आक्रमण भइरहेक छ ।

शान्ति सेना अन्तर्गत नेपाली फौज सुरक्षित

दुई पक्षबीच आक्रमण जारी रहँदा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि लेबनानमा खटिएको नेपाली सेनाको टोलीले भने आफूहरु सुरक्षित रहेको प्रतिक्रिया दिएको छ ।

नेपाली सेनाले हालसम्म आफू रहेको क्षेत्रको अवस्था सामान्य रहेको जनाएको छ । हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा इजरायलले लगातार आक्रमण गरिरहँदा लेबनानमा रहेका नेपाली सैनिकहरु पनि प्रभावित हुनसक्ने आशंका गरिएको छैन ।

राष्ट्रसंघीय शान्ति स्थापनार्थ ‘युनाइटेट नेसन्स इन्टेरिम फोर्स इन लेबनान’ मिसन अन्तर्गत विभिन्न देशका सैनिकसहित ९ हजार ५ सय ३२ जना लेबनानमा हाल तैनाथ छन् । जसअन्तर्गत करिब ८ सय ५० जना नेपाली सैनिक लेबनानमा तैाथ छन् । इजरायलले लेबनानको दक्षिणी क्षेत्रमा लागातार आक्रमण गरिरहँदा नेपाली सैनिकहरुले आफ्नो इलाकामा आक्रमणको असर नपरेको प्रतिक्रिया दिएका छन् ।


क्लिकमान्डु