अग्रवालको आग्रह: नेपाली उत्पादनमा निगरानी बढाउँदा आयातित वस्तुको पनि गुणस्तर जाँचौं



काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा आयात हुने वस्तुहरुको गुणस्तर मापन अनिवार्य लागू गर्न सरकारसँग आग्रह गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

नेपालमा हाल करिब १ हजार १ सय ५० वटा वटा वस्तु तथा सेवाहरुमा नेपाल गुणस्तर निर्धारण गरिए पनि सामान्यतया नेपालमा ५ हजारभन्दा बढी वस्तुहरु आयात हुने गरेको भन्दै उनले अधिकांश आयातित वस्तुहरु कस्तो गुणस्तरका छन् भन्ने नै यकिन नभएको उनको भनाइ थियो ।

यसले उपभोक्ता अधिकार हनन हुनुका साथै स्वदेशमा उत्पादन हुने वस्तुहरुको बजारलाई समेत नकारात्मक असर गरिरहेको अध्यक्ष अग्रवालले बताए । आयातित वस्तुमा निगरानी नहुने गरेको पनि उनको गुनासो थियो ।

स्वदेशी उद्योगहरुको संरक्षण र आम मानिससँग प्रत्यक्ष सरोकार राख्ने वस्तुहरु गुणस्तरीय हुन आवश्यक रहेको भन्दै भारतसँग धेरै व्यापार हुने भएकाले अध्यक्ष अग्रवालले भारत गुणस्तर र नेपाल गुणस्तर ऐन एक अर्कालाई मान्य हुनेगरी समझदारीका लागि पहल गर्न अनुरोध गरेका थिए ।

‘नेपालमा हाल करिब ११५० वटा वस्तु तथा सेवाहरुमा नेपाल गुणस्तर निर्धारण गरिएको छ । तर सामान्यतया नेपालमा ५ हजार भन्दा बढी वस्तुहरु आयात हुने गरेको देखिन्छ । अधिकांश आयातित वस्तुहरु कस्तो गुणस्तरका छन् भन्ने नै यकिन छैन । त्यसले उपभोक्ता अधिकार हनन् त गरेको छ नै, स्वदेशमा उत्पादन हुने वस्तुहरुको बजारलाई समेत नकारात्मक असर गरिरहेको छ,’ अध्यक्ष अग्रवालले भने ।

स्वदेशी सबै उत्पादन तथा उत्पादकहरुमा गुणस्तरीय मापदण्ड लागू हुने र सबै उत्पादकहरुले गुणस्तरीय मापदण्ड अनिवार्य पूरा गर्नुपर्ने भए पनि आयातित वस्तुमा निगरानी नहुने उनको गुनासो थियो ।

अग्रवालले भनेका छन्, ‘स्वदेशी उत्पादन तथा उत्पादकहरुले गुणस्तरीय मापदण्ड पूरा गरेनगरेको निगरानी गर्न धेरै निकायहरु पनि छन् । तर आयातित वस्तुमा निगरानी गरिएको पाइँदैन । स्वदेशी उद्योगहरुको संरक्षण र आम मानिससँग प्रत्यक्ष सरोकार राख्ने यस्ता वस्तुहरु गुणस्तरीय हुन अत्यन्त आवश्यक छ । त्यसैले नेपालमा आयात हुने वस्तुहरुको गुणस्तर मापन अनिवार्य लागू गर्न पनि अनुरोध गर्दछु । भारतसँग धेरै व्यापार हुने भएकाले भारत गुणस्तर र नेपाल गुणस्तर ऐन एक अर्कालाई मान्य हुनेगरी समझदारीका लागि पहल गर्न अनुरोध गर्दछु ।’

अध्यक्ष अग्रवालले आयातित वस्तुमा पनि लेभलिङ अनिवार्य गर्नुपर्ने पनि बताएका थिए । आयातित वस्तुमा लेभलिङ लगाइएको तर भन्सार पास भएपछि मात्रै लगाइने गरेको भन्दै आयातित वस्तुमा भन्सार बिन्दुमै लेभलिङ गर्न माग गरे । उपलब्ध भएसम्म स्वदेशी वस्तुलाई खरिद गर्ने कुरा कडाइका साथ लागू गर्न उनले आग्रह गरे ।


क्लिकमान्डु