शुक्लाफाँटामा खाना-नास्ताको होटलबाटै महिनामा २५ लाख



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका १० झलारीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका २८ वर्षीय रमेशबहादुर रावल १८ वर्षको उमेरदेखि नै होटल व्यवसायमा छन् । मेहनती व्यवसायीका रुपमा चिनिने रावल बिहान ६ बजेदेखि साँझ ९ बजेसम्म होटलमै ग्राहकको सेवा र सत्कारमा खटिने गर्छन् ।

उनले होटल व्यवसाय सञ्चालन गरी दैनिक ३० हजार रुपैयाँभन्दा बढीको कारोवार गर्दै आएका छन् । होटलमा कार्यरत कामदारको ज्याला, आवश्यक खाद्य सामग्री लगायतको खर्च कटाएर पाँच हजारदेखि सात हजारसम्म रावलले दैनिक आम्दानी गर्दै आएका छन् ।

नम्र स्वभावका रावलको होटलमा निर्माण क्षेत्रमा काम गर्ने मजदुर, कर्मचारी, यातायात क्षेत्रमा काम गर्ने व्यक्ति ग्राहकका रुपमा रहने गर्छन् । “महिनामा २० देखि २५ लाखसम्मको होटलबाट कारोवार हुने गरेको छ,” उनले भने, “त्यसबाट दुई लाख जति महिनाको आम्दानी हुन्छ ।”

होटलको कमाइबाटै रावलले घर खर्चसँगै औषधोपचार, लुगाफाटो, खाद्यान्न लगायतको व्यवस्था मिलाउँदै आएका छन् । होटल व्यवसायको सुरुवात रमेशका बुवा धन बहादुरले विसं २०६५ सालमा गरेका थिए । १० हजार लगानी गरी खोलिएको होटलमा रावलले हाल २५ लाख लगानी गरिसकेका छन् ।

“चिनजानका व्यक्तिहरुबाट ऋणका रुपमा र सापटी रकम लिएर बुवाले होटलको सुरुवात गरेका हुन्” उनले भने, “थोरै लगानी हुँदा ग्राहक सुरुमा कमै मात्रै आउँथे, आम्दानी पनि थोरै थियो, घर खर्च चलाउनै मुस्किल थियो, सहरीकरण बढ्दै गएपछि होटेलमा खाना खान र नास्ता गर्नका लागि ग्राहक थपिँदै जादा आम्दानी बढ्यो ।”

बुवाले पुरानै तरिकाले होटल सञ्चालन गर्दा थोरै ग्राहक आउने भएकाले समय अनुसार होटललाई नयाँ व्यवस्थापन गरी लैजानु पर्छ भन्ने सोचेर रमेशले त्यही अनुरुप होटल सञ्चालन गरेपछि खाना र नास्ताका लागि ग्राहकहरु धेरै आउन थालेका छन् ।

पछिल्लो समय आम्दानी पनि बढदै गएको उनी बताउँछन् । होटलमा गरिएको लगानी आम्दानी भएको रकमबाट थप्दै अगाडि बढाउँदै लग्दै आएको उनी बताउँछन् । अरुलाई होटल व्यवसाय गरी सहज जीवनयापन गरेको देख्दै आएपछि यसै पेशाप्रतिको लगाव बढदै आएको उनको अनुभव छ ।

स्थानीयवासी हेमराज पाण्डेयले अन्य होटेलको तुलनामा सफा सुग्घर र खानाका परिकार सस्तो पाइने भएकाले खाना खान ग्राहकले यही होटल रोज्ने गरेको रावल बताउँछन् । “ग्राहक पुग्दा मुस्कुराउने, नम्र स्वभावमा कुरा गर्ने होटल सञ्चालकको बानीले लोभ्यायो,” पाण्डेयले भने, “खानाका परिकार घरमा बनाइने जस्तै मौलिक पाइने भएकाले यहाँ पुग्छु ।”

होटल व्यवसायसँगै रावलले स्नातक व्यवस्थापन संकाय अन्तर्गतको शिक्षा पनि हासिल गरेका छन् । होटलकै कमाइबाट झलारी बजारमै ५० लाखभन्दा बढी पर्ने एक कठ्ठा जग्गा खरिद गरी त्यसमा १० कोठे पक्की घर निर्माण गरेका छन् । होटल व्यवसायसँगै रावल सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय भएर लाग्ने गरेका छन् । यसवाहेक दिनदुखीलाई उनले आर्थिक सहयोग पनि गर्दै आएका छन् ।

उनी कञ्चनपुर होटल व्यवसायी संघको कार्यसमिति सदस्य पनि हुन् । शुक्लाफाँटा उद्योग वाणिज्य संघका सदस्य रहेका छन् । “प्लस टु पास गरेपछि युवाहरु विदेशिने लहर चलेको छ, कमाई गर्नकै लागि विदेश जानुनै पर्दैन, लगनशील भएर कार्य गरे विदेशको भन्दा बढी कमाइ स्वदेशमै गर्न सकिन्छ । त्यसका लागि धैर्य चाहिन्छ, ग्राहको विश्वास जित्न सक्नुपर्छ, इमान्दारीपूर्वक जुनसुकै कार्य गरे पनि गतिलो कमाइ गर्न सकिन्छ,” उनी भन्छन् ।


क्लिकमान्डु