कर वृद्धिको विरोधमा हेटौंडाका व्यवसायी आन्दोलित, उपमहानगरलाई साँचो बुझाएर नाराबाजी



काठमाडौं । कर वृद्धिको विरोधमा हेटौंडाका व्यवसायीहरुले आफ्ना व्यवसाय बन्द गरेर उपमहानगरपालिकालाई साँचो बुझाएका छन् ।

शुक्रबार बिहान उनीहरुले कर वृद्धिको विरोध गर्दै आफ्नो व्यवसायको साँचो उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँलाई साँचो बुझाएका हुन् ।

मेयर लामा र उपमेयर बानियाँले व्यवसायीहरुको नाराबाजीका बीच साँचो बुझेका थिए । हेटौंडाका व्यवसायीहरुको यो आन्दोलनको नेतृत्व मकवानपुर उद्योग वाणिज्य संघले नेतृत्व गरेको हो । साथै उद्योग वाणिज्य महासंघ बागमतीले पनि यो आन्दोलनलाई समर्थन जनाएको छ ।

व्यवसायीहरुले उपमहानगर कार्यालयमा धर्ना दिएर नाराबाजी पनि गरिरहेका छन् । मेयर लामा र उपमेयरले आन्दोलनरत व्यवसायीका केही प्रतिनिधिलाई छलफलका लागि कार्यालयमा आउन आग्रह गरे पनि उनीहरुले व्यवसायको साँचो नै बुझाएका थिए ।

हेटौंडा उद्योग वाणिज्य संघसहित निजी क्षेत्रका वस्तुगत संघसंस्थाहरुले उपमहानगरपालिकालाई कर वृद्धिको निर्णय फिर्ता पनि माग गर्दै आएको छ ।

आर्थिक मन्दी, ऋणको साँवा–ब्याज भुक्तानीमा दबाब परेको, कारोबारमा आएको गिरावट लगायतका कारण व्यवसायीहरु पलायन भइरहँदा स्थानीय सरकारले करको दर र दायरा बढाएको भन्दै व्यवसायीहरुले आन्दोलन गरेका हुन् । उनीहरुले बुधबार र बिहीबार पनि उपमहानगरपालिकामा धर्ना दिँदै दिनभर नाराबाजी गरेका थिए ।

शुक्रबार भने उपमहानगरले वार्ताको लागि पहल गरे पनि आफ्ना केही बटमलाइन राख्दै व्यवसायीहरु आन्दोलित बनेका हुन् । यसैबीच उपमहानगरपालिकाले यसबारे नगरसभा बोलाउन माग गरेको थियो ।

यसैबीच बागमती उद्योग वाणिज्य महासंघले उक्त आन्दोलनलाई समर्थन गर्दै विज्ञप्ति जारी गरेको छ । बागमती उद्योग वाणिज्य महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘मकवानपुर उद्योग वाणिज्य संघलगायत निजी क्षेत्रका विभिन्न वस्तुगत संघसंस्थाहरुले हेटौंडा उपमहानगरपालिका कार्यालयको यो कर वृद्धि यथाशीघ्र फिर्ता लिन गरेको आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पूर्ण समर्थन रहेको यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ । साथै हेटौंडा उपमहानगरपालिका कार्यालयलाई पनि कर वृद्धि फिर्ताको लागि हार्दिक अपिल गर्दै उद्योगी व्यवसायीहरु र आम सर्वसाधारणलाई सहज ढंगमा काम गरेर खाने वातावरण तयार गरिदिन हार्दिक अनुरोध गर्दछौं ।’


क्लिकमान्डु