न्यायाधीशलाई ट्रम्पको आग्रह: ‘हस मनी’ मुद्दाको सजाय निर्वाचनसम्म स्थगित गरिदिनू



एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका वकिलले ट्रम्पविरुद्धको ‘हस मनी’ मुद्दाको सजाय आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनसम्मका लागि स्थगित गरिदिन आग्रह गरेका छन् ।

नोभेम्बरको राष्ट्रपति निर्वाचनमा रिपब्लिकनको तर्फबाट उम्मेदवार रहेका ट्रम्पविरुद्ध अदालतले ‘हस मनी’ मुद्दामा गत मे महिनामा नै दोषी ठहर गरेको थियो ।

तर निर्वाचन नजिकिँदै गर्दा ट्रम्पका वकिलले न्युयोर्कस्थित अदालतका न्यायाधीशसमक्ष भेटेर हस मनीसहितका ३४ मुद्दाको फैसलाको सजाय निर्वाचनअघि नतोक्न आग्रह गरेका हुन् । सीएनएनको समाचार अनुसार ट्रम्पका वकिलले न्यायाधीशसमक्ष भेटेर सजायको मिति स्थगित गर्न ट्रम्पको आग्रह सुनाएका थिए । तर अदालतले चुनावको तयारी गरिरहेका ट्रम्पविरुद्धको सजाय आगामी सेप्टेम्बर १८ मा तोक्ने तालिका छ ।

ट्रम्पले २०१६ मा राज्य सम्पत्तिको दुरुपयोग गर्दै अमेरिकी एडल्ट फिल्म स्टार स्टोर्मी ड्यानिएल्ससँगको यौन सम्बन्ध लुकाउन उनलाई पैसा दिएको भन्दै ड्यानिएल्सले मुद्दा दायर गरेकी थिइन् । उक्त मुद्दामा ट्रम्प दोषी ठहर भइसकेका छन् । यद्यपि यसको सजाय भने अदालतले आगामी सेप्टेम्बरमा मात्रै तोक्नेछ ।

जवकि नोभेम्बरको राष्ट्रपति निर्वाचन तयारी गरिरहेका ट्रम्पले हस मनीको मुद्दालाई लिएर चौतर्फी आलोचनाको सामना गर्नु परिरहेको छ ।

यसअघि डेमोक्रेटबाट राष्ट्रपतिको उम्मेदवार बनेका वर्तमान राष्ट्रपति जो बाइडेनले समेत चुनावी बहसको क्रममा ट्रम्पमाथि हस मनीमा अदालतबाट दोषी ठहर भएको विषय उठाएका थिए । ट्रम्पलाई एक चरित्रहीन र अदालतबाट दोषी ठहर भएका व्यक्ति भन्दै उनले ट्रम्पको आलोचना गरेका थिए ।


क्लिकमान्डु