विदेशी पर्यटक बोलाउँदै उत्तर कोरिया



एजेन्सी । उत्तर कोरियाले विदेशी पर्यटकका लागि आफ्नो एउटा सहर पाँच वर्षपछि खोल्ने तयारी गरेको छ । कोरोना महामारीको बेला सीमा बन्द गरेको उत्तर कोरियाले आगामी डिसेम्बरमा विदेशी पर्यटक भित्र्याउने भएको हो ।

चीनमा रहेका दुई टुर अपरेटले उत्तर कोरियाको समजियोन सहरमा भ्रमणका लागि चाँडै नै विदेशी पर्यटकलाई अनुमति दिने उल्लेख गरेका छन् । उत्तर कोरियाले भने उक्त क्षेत्रलाई कोरोना महामारीका बेला २०२० को सुरुदेखि नै सिल गरेको थियो । र गत वर्षको अन्त्यतिर मात्रै उक्त सहरमा प्रतिबन्ध फुकुवा गरिएको थियो ।

सीमा बन्दका कारण उक्त क्षेत्रमा अत्यावश्यक सामान आयातमा पनि अवरोध भइरहेको थियो । सेङ्यान सरको टुर अपरेटर केटीजीले आफ्नो फेसबुकमा लेखेको छ, ‘समजियोन सहर खुल्ने कुरा आधिकारिक रुपमा पुष्टि भएको छ । हामीलाई लाग्छ प्योङयाङ र अन्य ठाउँहरु पनि अब खुला हुनेछन् ।’

यसैबीच बेइजिङको कोर्यो टुर्सले आगामी डिसेम्बरमा विदेशी पर्यटकहरुले उत्तर कोरियाका अन्य क्षेत्रमा पनि भ्रमण गर्न सक्ने सम्भावना रहेको जनाएको छ ।

चीनको कोर्यो टुर्सले उत्तर कोरियाको पर्यटन फेरि खुला भएकोमा आफूहरु उत्साही भएको जनाएको छ । कोर्यो टुर्सको वेबसाइटमा लेखिएको छ, ‘चार वर्षभन्दा लामो समयको पर्खाइपछि उत्तर कोरियाली पर्यटन उद्घाटनका लागि कोर्यो टुर्स फेरि एक पटक उत्साही भएको छ ।’

समजियोन सहर उत्तर कोरियाको सबैभन्दा अग्लो हिमाल पाएक्तुको पदमार्गमा पर्छ । जुन चीनसँगको सीमा क्षेत्रमा पर्छ । साथै हिउँदको समयमा यो क्षेत्रमा भ्रमण गर्ने मानिसहरुको भीड लाग्ने गर्छ ।

उत्तर कोरियाका संस्थापक किम इल सुङले जापानी सैनिकसँग लड्ने र क्रान्तिको सुरुवात यही क्षेत्रबाट गरेको भन्दै प्योङयाङले प्रचार गर्ने गर्छ । जो हालका उत्तर कोरियाली नेता किम जोङ उनका हजुरबा थिए ।

यस्तै संस्थापक किमका छोरा तथा वर्तमान नेता उनका बुवा किम जोङ दोस्रोको जन्मस्थानको रुपमा पनि यस क्षेत्रलाई प्रचार गरिन्छ । पछील्ला वर्षहरुमा यस क्षेत्रमा उत्तर कोरियाले व्यापक रुपमा भौतिक पूर्वाधारहरु निर्माण गरिरहेको छ । वर्तमान नेता किमले यस क्षेत्रमा विमानस्थल, सैन्य स्कि बेस बेस रिसोर्ट र विदेशी पर्यटकका लागि नयाँ रेलवे र होटलहरु निर्माण गर्ने योजना अगाडि सारेका छन् ।

कोरोना अवधिसँगै बन्द भएको उत्तरको पर्यटन २०२४ पछि रुसी पर्यटकका लागि मात्रै खुला गरिएको थियो । यसले दुई देशको सम्बन्ध थप बलियो बनाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । यद्यपि अमेरिकाले भने उत्तर कोरिया भ्रमणमा आफ्ना नागरिकहरुलाई प्रतिबन्ध लगाउँदै आएको छ । उत्तर कोरिया भ्रमण गर्ने अधिकांश विदेशी पर्यटकहरु चीनको बाटो प्रयोग गर्छन् ।


क्लिकमान्डु