युक्रेनको युद्ध रणनीति: १ हजार किमी रुसी क्षेत्रभित्र छिर्‍यो युक्रेनी सेना



एजेन्सी । युक्रेनले आफ्ना सैनिकहरु रुसको भूमिको १ हजार वर्ग किलोमिटर भित्र छिरेको दाबी गरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने यस आक्रमणलाई उक्साहटमा भएको ठूलो कदम भन्दै टिप्पणी गरेका छन् ।

साथै आफ्नो भूमिबाट बाहिर निकाल्ने चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेनी सेना रुसको कुर्स्क क्षेत्रमा पुगेका छन् । जहाँ दुबै देशका सैनिकहरुबीच पछिल्लो सातादेखि लडाइँ भइरहेको छ ।

गत साता युक्रेनले रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेको थियो । ६ अगस्टमा युक्रेनी सेनाले कुर्स्क क्षेत्रमा अचानक आक्रमण गरेको थियो ।

तर उक्त हमलाको क्षतिबारे विस्तृतमा जानकारी आइसकेको छैन । यसैबीच कुर्स्क क्षेत्रका गभर्नरले राष्ट्रपति पुटिनलाई २८ वटा रुसी गाउँहरु युक्रेनी सेनाको कब्जामा रहेको जानकारी दिएका थिए ।

रुसले सीमा क्षेत्रमा आफ्नो सैन्य शक्तिलाई केन्द्रित गरिरहेका बेला युक्रेनले यस्तो युद्ध रणनीति अपनाएको हो । साथै रुसी सेना युक्रेनको भूमि कब्जा गर्न प्रयासरत रहँदै आएको छ ।

रुसी सेना युक्रेनको भूमि कब्जा गर्ने प्रयासमा रहँदा युक्रेनले पनि रुसको भूमि कब्जा गर्ने कदम चालेको हो । यस क्रममा युक्रेनी सुरक्षा अधिकारीहरुले आफूहरु आक्रामक मुडमा रहेको प्रतिक्रिया दिएका छन् । दुश्मनका सैनिकहरुमा धेरै भन्दा धेरै क्षति पुर्‍याउनु आफ्नो लक्ष्य रहेको उनीहरुको भनाइ छ ।

जवकि युक्रेनले पनि रुसी सेनाबाट आफ्नो भूमि रक्षा गर्न सकिरहेको छैन । पछिल्लो केही समययता युक्रेनले आफ्नो पूर्वी क्षेत्रमा रुसी सेनालाई रोक्नका लागि संघर्ष गरिरहेको छ । रुसी सेनाले पछिल्लो महिना युक्रेनको पूर्वी क्षेत्रस्थित रणनीतिक सहर कब्जा गरिसकेको छ ।

रुसले १ लाख २० हजारभन्दा धेरै मानिस रहेको कुर्स्क क्षेत्रमा आपतकाल घोषणा गर्दै स्थानीय बासिन्दाहरुलाई प्रतिव्यक्ति ११५ डलर मुआब्जा दिने बाएको छ ।


क्लिकमान्डु