उद्योगी र प्राधिकरणबीच विवाद चलिरहेकै बेला ४ उद्योगले बुझाए बक्यौता



काठमाडौं । नेपाल विद्युत प्राधिकरण र उद्योगीहरुबीच डेडिकेटेड फिडर तथा ट्रंकलाइनको प्रिमियम महसुलको विषयमा विवाद चलिरहेका बेला चार उद्योगले बक्यौता तिरेका छन् ।

सोना प्याकेजिङ, सोना पोलिमर्स, यशोदा फुड्स र जय दुर्गा प्लास्टिक उद्योगले बक्यौता तिरेका हुन् । यी चारै उद्योग भैरहवा क्षेत्रका हुन् । प्राधिकरणका अनुसार २०७२ माघदेखि २०७५ बैशाखसम्मको बक्यौता क्लियर गरेका छन् ।

बुधबारसम्म सोना प्याकेजिङ, सोना पोलिमर्स र यशोदाले प्रिमियम बक्यौता तिरेकामा बिहीबार जय दुर्गा पनि यो सूचीमन थपिएको हो ।

सोना प्याकेजिङले २ लाख ८४ हजार रुपैयाँ, सोना पोलिमर्सले २ लाख ७७ हजार रुपैयाँ, यशोदा फुड्सले ३ लाख ४० हजार रुपैयाँ र जय दुर्गाले ७० हजार ५३२ रूपैयाँ बक्यौता तिरेका हुन् । यो बक्यौतामा २५ प्रतिशत थप जरिवाना समेत उद्योगहरुले तिरेका छन् ।

विवाद चलिरहेकै बेला तीन उद्योगले बक्यौता तिरे पनि अरु उद्योगीहरुले टाइम्स अफ डे मिटरिङ (टिओडी) मिटरको रेकर्ड नभएको भन्दै तिर्न अस्वीकार गर्दै आएका छन् ।

उनीहरुले टिओडी मिटरको रेकर्ड दिएमात्रै तिर्ने बताइरहेका छन् ।

प्राधिकरणले मन्त्रिपरिषद्ले निर्देशन दिएको भन्दै उद्योगीहरुलाई २०७२ माघदेखि २०७५ बैशाखसम्मको महसुल तिर्न आग्रहसहित पत्र लेखेको थियो । ६१ कम्पनीको गरी कुल ६ अर्ब ६० करोड रुपैयाँ बक्यौता छ ।

उद्योगीहरुले बक्यौता तिर्न नमानेपछि लाइन काट्न थालेको थियो । प्राधिकरणले लाइन काटेपछि विद्युत नियमन आयोगले लाइन जोड्न निर्देशन दियो । त्यसपछि प्राधिकरणले लाइन जोडेको छ ।

अहिले यो विवाद प्रतिनिधी सभा अन्तर्गतको लेखा समितिमा छ । समितिले शुक्रबार उद्योगी, प्राधिकरण, ऊर्जा मन्त्रालय, विद्युत नियमन आयोगलगायतका निकायसँग छलफल गरेको छ । छलफलपछि समितिले प्राधिकरणसँग डेटा माग्ने निर्णय गरेको छ ।

सोमबार प्राधिकरणले तीनदिनभित्र टिओडी मिटरको रेकर्ड बुझाउन निर्देशनसहित पत्र लेखेको छ । प्राधिकरणले पनि बिहिबार टिओडी मिटरको रेकर्डसहितको कागजात बुझाउने तयारी गरेको छ ।

डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेका भैरहवा क्षेत्रका ४ उद्योगले २५ प्रतिशत जरिवानासहित बुझाएको प्रिमियम बक्यौता रकम:
१.यशोदा फुड्स प्रालिः रु.४,२५,२३१
२.जय दुर्गा प्लास्टिक उद्योगः रु.७०,५३२
३. सोना प्याकेजिङः रु.३,५५,०६७
४.सोना पोलिमर्स इन्ड्रस्ट्रिजः रु.३,४६,३८९


क्लिकमान्डु