प्राधिकरणले टिओडी मिटरको डेटासहितको विवरण बिहिबार पठाउने



काठमाडौंं । नेपाल विद्युत प्राधिकरणले टाइम्स अफ डे मिटरिङ (टिओडी) को डेटा बिहिबार सार्वजनिक लेखा समितिलाई पठाउने भएको छ।

बुधबार नै प्राधिकरणले टिओडी मिटरको डेटासहितको विवरण पठाउन लागेको थियो । पठाउनु अघि सबै कागजातहरु कुनै गल्ती नहोस् भनेर पुन: हेर्ने निर्णय भएकाले बिहिबार मात्रै पठाउन लागेको हो ।

‘हामीले आज पठाउने तयारी गरेका थियौं । सल्लाह गर्दा पठाउन तयारी गरेका कागजातहरु फेरी हेर्ने निर्णय भयो,’ प्राधिकरणका एक उच्च अधिकारीले भने- ‘बिहिबारका लागि साईत जुरेको छ ।’

लेखा समितिले विद्युत् सोमबार पत्राचार गरेर प्राधिकरणसँग टिओडी मिटरको रेकर्ड रेकर्डसहित मनोज मिश्र, भक्तबहादुर पुनको प्रतिवेदन मागेको थियो । ३ दिनभित्र सबै कागजात समितिलाई उपलब्ध गराउन पत्रमा भनिएको छ ।

प्राधिकरणका अनुसार प्राधिकरणसँग भएका सबै डेटाहरु लेखा समितिलाई उपलब्ध गराउन लागिएको छ । बिदाका दिन र आधा रातसम्म बसेर प्राधिकरणले विवरण संकलन गरेको दाबी गरिएको छ ।

शुक्रबारको लेखा समितिको बैठकले विद्युत प्राधिकरणसँग टिओडी मिटरसहितको विवरण माग्ने निर्णय गरेको थियो । प्राधिकरणसँग टिओडी मिटरको विवरण मागेर ५ दिनमा प्रतिवेदन बनाउने र त्यसपछि बस्ने बैठकले निर्णय गर्ने लेखा समितिले निर्णय गरेको छ ।

शुक्रबार लेखा समितिमा डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवाद विषयमा छलफल भएको थियो । बैठकमा उद्योगी, विद्युत नियमन आयोग, प्राधिकरण, ऊर्जा मन्त्रालय, महालेखालगायतसँग छलफल गरेको थियो ।

प्राधिकरणले मन्त्रिपरिषद्ले निर्देशन दिएको भन्दै ६ अर्ब ६० करोड रुपैयाँ उठाउन उद्योगीहरुलाई पत्र काटेपछि विवाद बढेको हो । उद्योगीहरुले टिओडी मिटरको रेकर्ड नदिएसम्म बक्यौता नतिर्ने बताएका छन् । उद्योगीहरुले प्राधिकरणले पठाएको अतिरिक्त शुल्कसहतिको उक्त विल फर्जी भएको दाबी गर्दै आएका छन् ।


क्लिकमान्डु