सूर्यचौरका वडाध्यक्ष भन्छन्- ‘हेलिकप्टर दुर्घटनास्थलमा बादल र तुवाँलो छ’



काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा एयर डाइनस्टीको हेलिकप्टर दुर्घटना भएपछि घटनास्थलमा प्रहरीसहित सुरक्षाकर्मीटो टोली उद्धारका लागि जाँदै छ । बुधबार अपराह्न २:३० बजेपछि हलिकप्टर दुर्घटना भएको हो ।

दुर्घटना भएको स्थान शिवपुरी गाउँपालिका-७ सूर्यचौरका वडाध्यक्ष अध्यक्ष वीर बहादुर तामाङले हेलिकप्टर दुर्घटना भएको पुष्टी गरेका छन् । हेलिकप्टरमा पाइलटसहित पाँच यात्रु थिए । तीमध्ये चार जना चिनियाँ पर्यटक रहेको बताइएको छ ।

दुर्घटनापछि वडाअध्यक्ष तामाङले दुर्घटनास्थलमा बादल र बाक्लो तुवाँलो लागेको क्लिकमान्डुलाई जानकारी दिएका छन् । रसुवाको स्याफ्रुबेसीका लागि १:४५ बजे काठमाडौंबाट उडेको हेलिकप्टर २० मिनेटमै स्याफ्रुबेसी पुग्नुपर्ने थियो । तर १ घण्टासम्म सम्पर्कविहीन भएपछि बल्ल खोजी सुरु गरिएको थियो । वडाध्यक्ष तामाङले दुर्घटनास्थलमा आफूसहित जनप्रतिनिधिको टोली पनि उद्धारका लागि पुगेको बताएका छन् ।

साथै दुर्घटनामा यात्रुहरुको हताहत भएको बताइएको छ। स्थानीयहरुले त्यहाँ आगो लागेको र शव भेटिएको बताए पनि यसबारे आधिकारिक पुष्टि भइसकेको छैन । वडाध्यक्ष तामाङका अनुसार हेलिकप्टर एउटा रुखमा ठोक्किएको हुनसक्ने देखिन्छ ।


क्लिकमान्डु