रास्वपा सांसद सोविता गौतमलाई कसले गर्‍यो दुर्व्यवहार ?



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ की सांसदसमेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले निर्वाचन क्षेत्रमा जाँदा आफूमाथि दुर्व्यवहार भएको बताएकी छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद गौतमले निर्वाचन क्षेत्रको अवलोकनका लागि जाँदा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पर्ने मूलपानीमा आफूमाथि दुर्व्यवहार भएको बताएकी हुन् ।

‘अविरल वर्षातले मेरो निर्वाचन क्षेत्रमा अवलोकनका लागि गएको थिएँ । साँझ पाँच बजेको समयमा कागेश्वरी मनोहरा वडा नम्बर ६ मा रहेको मनकामना टोलमा पुगेँ । मुलपानी क्रिकेट स्टेडियममाथिको डाँडातिर गएको थिएँ । त्यहाँको पहिरो अवलोकन गरेर फर्कने क्रममा सामान्य अवस्थामा नरहेका युवा ममाथि दुर्व्यवहार गर्ने किसिमले प्रस्तुत हुनुभयो,’ सांसद गौतमले संसद्‍मा भनिन्।

उनले जथाभावी बोले आफूलाई घेर्ने काम भएको र ती युवा गाँजा र रक्सीको नसामा रहेको बताइन् ।

‘चक्रव्यूहजस्तो गरेर जथाभाबी बोलेर मलाई घेर्न काम भयो । तैँले निर्वाचन क्षेत्रमा के गरिस् भनेर फोहोरी शब्द बोले,’ ‍उनले भनिन्, ‘ती युवा ममाथि दुर्व्यवहार गर्ने शैलीमा त्यहाँ प्रस्तुत भएका थिए ।’

दुर्व्यवहार गरिएको अन्तिम समयको भिडियोको केही भाग सामाजिक सञ्जालमा हालिएको बताइन् । र त्यो भिडियो हाल्ने व्यक्ति राष्ट्रिय दलको पदमा रहेको आफूले पाएको बताइन् ।

‘ती भिडियो अपलोड गर्ने व्यक्तिको फेसबुक प्रोफाइल खोलेर हेरेँ । जो व्यक्ति राष्ट्रिय दलको संवेदनशील पदमा रहेको व्यक्ति हुनुहुँदो रहेछ । युवा संगठनको साथी हुनुहुन्छ । बाटो ढुकेर छोरी मानिसहरूलाई तर्साउने अभ्यास के यो अमर्यादित होइन ? के यो जंगली प्रकारको भएन ?’ उनले प्रश्न गरिन् ।

अब आफू निर्वाचन क्षेत्रमा जाँदा कहाँकहाँ चौतारो छ, कहाँकहाँ खाली ठाउँ छ भनेर डराउनुपर्ने अवस्था आएको उनले बताइन्।


क्लिकमान्डु