कार्यकर्ताहरुलाई ओलीको निर्देशन: गुटबन्दीमा नलाग्‍नू, सानो दायरामा नअल्झिनू



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता, कार्यकर्ताहरुलाई कुनै गुटमा नलागिकन निष्ठापूर्वक काम निर्देशन दिएका छन् ।

आइतबार एमाले मुख्यालय च्यासलमा आयोजित नयाँ सदस्यहरुलाई शपथग्रहण कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले गुटबन्दी नगर्न र निष्ठापूर्वक सक्रियताका साथ पार्टीको पक्षमा काम गर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराएका हुन् ।

गुटबन्दी गरेर, पक्ष-विपक्ष गरेर, जालझेल गरेर कोही पनि सफल नहुने भन्दै उनले पार्टीका नेता, कार्यकर्ताहरुले त्यसको पक्षमा लाग्न नहुने बताए ।

‘इमान्दारिताका साथ अनुशासित ढंगले नेकपा एमालेको हिसावले तपाईँहरुले काम गर्नुहुनेछ । नेकपा एमालेभित्र पनि कतिपय गलत प्रवृत्तिहरु, बेठिक प्रवृत्तिहरु, विसंगतिहरु, त्यस्ता कुराहरु देखिएका छन् । ती कुराहरुबाट सिक्ने होइन । गटबन्दीबाट सिक्ने होइन । गुटका पछाडि लाग्ने होइन,’ ओलीले भने ।

यो पक्ष र त्यो पक्ष भनेर लाग्नुको सट्टा पार्टीको पक्षमा दृढताका साथ उभिन पनि उनले सबैलाई आग्रह गरेका थिए । ओलीले भने, ‘पार्टीका नीति सही छन्, विचार सही छन् । पार्टीले लिएका कार्यक्रम सही छन् । पार्टीले गरिरहेका काम सही छन् । पार्टीले ठीक व्यवहार गरेको छ, ठीक आचारण प्रस्तुत गरिरहेको छ । यो कुरामा विश्वास गर्ने र पार्टीमा निष्ठापूर्वक सक्रियताका साथ काम गर्ने ।’

जालझेल गरेर वा साना कुराहरुमा अल्झिएर सफलता नमिल्ने भन्दै उनले सानो दायरमा नअल्झिन पनि आग्र गरेका थिए । कार्यक्रममा ओलीले संविधान संशोधनको विषयमा सरकारविरुद्ध फैलाइएका भ्रमलाई चिर्न पनि आग्रह गरेका थिए । साथै आफूहरु स्टन्टबाजीमा नलाग्ने पनि उनको भनाइ थियो ।

राज्यमन्त्री समेत बनिसकेका नेकपा एकीकृत समाजवादीका नेता नगेन्द्र यादवको नेतृत्वमा ३० जनाले समाजवादी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका थिए । उनीहरुलाई आइतबार एमाले अध्यक्ष ओलीले शपथग्रहण गराएका हुन् ।


क्लिकमान्डु