प्रधानमन्त्रीको आग्रह: भ्रममा नपर्नू, हामी स्टन्टबाजी गर्दैनौं



संविधानलाई धार्मिक ग्रन्थ वेद, बाइवल, कुरान जस्तो असंशोधनीय दस्तावेजको रुपमा प्रस्तुत गर्न खोजिएको भन्दै त्यसको भ्रममा नपर्न प्रधानमन्त्री ओलीले सबैलाई आग्रह गरे

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विरुद्ध भ्रम फैलाइउनेहरु मुलुकमा क्रियाशील रहेको भन्दै सत्ता गठबन्धन दलहरुले यस्तो भ्रम नफैलाउने बताएका छन् । संविधान संशोधनको विषयलाई प्रतिगमनको रुपमा भ्रम फैलाउनेहरुप्रति उनले आक्रोश व्यक्त गरे ।

साथै आफूहरुले स्टन्टबाजी नगर्ने पनि उनले बताए । आइतबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले संविधानलाई धार्मिक ग्रन्थ वेद, बाइवल, कुरान जस्तो असंशोधनीय दस्तावेजको रुपमा प्रस्तुत गर्न खोजिएको भन्दै त्यसको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरेका थिए । यस्तै ओलीले लोकतन्त्रका लागि लडेर आएका कांग्रेस–एमालेले अझ बढी ग्राह्यता, स्वीकार्यता र प्रभावकारिता बढाउनका लागि संविधान संशोधन गर्न चाहेको बताए ।

‘लोकतन्त्रका लागि यो कुनै भुलभुलैया वा कुनै अफवाहको भरमा वा कुनै अन्योलग्रस्त भएर अथवा पपुलिष्ट हुनका लागि अथवा कुनै स्टन्टबाजीको रुपमा यसले कुनै पनि काम गर्दैन, कुनै विचार पनि प्रस्तुत गर्दैन । कुनै अन्यौल र भ्रम पनि चाल्दैन । स्टन्टबाजी पनि गर्दैन, कसैलाई झुक्याउने खेल पनि खेल्दैन । नेकपा एमाले यसभित्र छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिपक्षी दलहरुले आफूहरुविरुद्ध भ्रम फैलाउन खोजेको भन्दै त्यसमा विश्वास नगर्न पनि उनले कार्यकर्ताहरुलाई आग्रह गरेका थिए । जनताको भलाइ, सुशासन, समृद्ध नेपाल, सुखी नेपाली बनाउनका लागि संशोधन गर्न लागेको पनि उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले भने, ‘नेकपा एमाले, नेपाली कांग्रेस जस्ता लोकतन्त्रका लागि लडेर आएका पार्टीहरुको यो समीकरणले भनेको संविधान संशोधन स्वभाविक रुपमा लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानलाई अझ व्यवहारिक, सुदृढ, अझ लोकप्रिय बनाउने, यसको ग्राह्यता, स्विकार्यता, प्रभावकारिता, यी सबै पक्षहरुलाई अभिवृद्धि गर्ने । यस हिसावले मुख्य रुपमा यसको प्रभावकारितामा देशको विकासका लागि, सुशासनका लागि र संविधानले परिकल्पना गरेजस्तै मान्छेका समस्या केन्द्रित, समाज केन्द्रित, त्यस हिसावले अघि बढने मूल्य, मान्यता अनुरुप नै समृद्ध नेपालः सुखी नेपाली । नेपाललाई समृद्ध बनाउनु छ, नेपाली जनतालाई सुखी बनाउनु छ । यही उद्देश्यमा हामी लागि रहेका छौं ।’


क्लिकमान्डु