सहरी विकासमन्त्री सिंहले भने- ‘सडक बत्तीको भुक्तानी सम्बन्धी समस्या मिलाउँछौं’



काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०८१/०८२ देखि सडक बत्तीको महशुल ६०/४० ले भुक्तानी गर्नेगरी व्यवस्था मिलाउन मन्त्रालय सकारात्मक रहेको बताएका छन् ।

बिहीबार मन्त्रालयमा उपत्यका मेयर्स फोरमहरुसँगको भेटका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले सडक बत्तीका लागि उपत्यकाका स्थानीय सरकारले ६० प्रतिशत र संघीय सरकारले ४० प्रतिशत तिर्नेगरी व्यवस्था गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । काठमाडौं उपत्यका मेयर फोरमले आफ्ना समस्याहरु खुलेर राखेको भन्दै व्यवधान र अवरोध भए खुलाउनका लागि पनि मन्त्रालय तयार रहेको उनको भनाइ थियो ।

उनले सडकको फोहोर व्यवस्थापनमा पनि आफ्नो मन्त्रालयले विशेष ध्यान दिने बताएका थिए । ‘तपाईंहरु आएर काठमाडौं उपत्यका मेयर फोरमले जुन मलाई खुला रुपमा आफ्ना समस्याहरु राख्नुभएको छ । त्यसमा गम्भीर छु । मन्त्रालयले गर्नुपर्ने सहयोग म गर्न तयार छु । सहरी विकास मन्त्रालयले स्थानीय सरकारलाई काममा कतै व्यवधान र अवरोध भए त्यसलाई फुकाउन हामी तयार छौँ । यसलाई संयुक्त रुपमा काम गरौँ । सहरी विकास त यसले हेर्छ तर गाउँहरुमा सडकदेखि व्यवस्थापन गर्ने काम पनि यसले हेर्छ,’ मन्त्री सिंहले भने ।

यस्तै सडक बत्तीको भुक्तानीको विषयमा भने उनले ऊर्जा मन्त्रालयसँग छलफल गरेर स्थानीय तहको माग अनुसार समाधान गर्न सकारात्मक भूमिका खेल्ने बताएका थिए । सोही बैठकमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यदि विद्युत प्राधिकरणले उद्योगी व्यवसायीलाई जस्तै व्यवहार गरेर सडक बत्तीको लाइन काटेमा आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए । महर्जनको भनाइलाई संकेत गर्दै मन्त्री सिंहले यो विषयमा आफूले ऊर्जा मन्त्रालयसँग छलफल गरेर समाधान निकाल्ने बताए ।


क्लिकमान्डु