‘सर्बहारा’ नेता बाबुराम र नारायणकाजीमा को धनी ?




काठमाडौं । गोरखा जिल्ला क्षेत्र नं २ आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धेरैको चासो र चर्चामा रहेको क्षेत्र हो ।

दुई पूर्व सहकर्मी फरक फरक गठबन्धनबाट सोही क्षेत्रमा निर्वाचन लडेका छन् । दुई सहकर्मीबीचको चुनावी भिडन्तले देशकै निर्वाचन माहौललाई एकदमै रोचक बनाइदिएको छ ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा छन् । भट्टराई नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा छन् भने श्रेष्ठ वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् ।

डा. भट्टराई पूर्वकम्युनिष्ट नेता हुन् भने श्रेष्ठ अहिले पनि कम्युनिष्ट नेता नै हुन् । कम्युनिष्ट नेताहरुले आफूलाई सर्वहारा बर्गको नेता भन्न रुचाउँछन् ।

यति छ बाबुरामको सम्पत्ति

डा. बाबुराम भट्टराईले आफ्नो नाममा नगद ५ लाख रुपैयाँ बैंकमा रहेको र गोरखा जिल्ला खोप्लाङ ४ मा करिब दुई रोपनी बाँझो जग्गा रहेको जानकारी दिएका छन् ।

उनले खोप्लाङमा करिब दुई रोपनी पाखो बाँझो जग्गा आफ्नो नाममा रहेको तर सो जग्गा बेच्ने क्रममा लालपुर्जा खाली राख्नु हुन्न भनी छाडिएको बताउने गरेका छन् ।

उनले पार्टीको स्करपियो गाडी प्रयोग गर्ने गरेको पनि देखाएका छन् । यस्तै पूर्व प्रधानमन्त्रीको हैसियतले उनले राज्यबाट सुविधा पाएका छन् । त्यसमा सवारी साधन र त्यसको इन्धन समेत पाउने गरेका छन् ।

उनले आफुसँग सुन, चाँदी, ऋण, पशु तथा पशुधन, कुनै पनि कम्पनीको सेयर र घर नभएको बताउने गरेका छन् । तर, विशालनगरमा उनी तीन तले घरमा बस्ने गरेका छन् ।

त्यसको भाडा मात्रै उनले वार्षिक १५ लाख रुपैयाँ बुझाउने गरेका छन् । उक्त भाडा वापतको रकम कसरी जोहो गरेका छन् भन्ने बारेमा भने उनी केही बताउन चाहदैनन् । उनले शुभेच्छुक तथा साथीभाइले नियमित रुपमा सहयोग गरिरहेको बताउने गरेका छन् ।

जनयुद्धकालमा उनले सबै सम्पत्ति बेचेर पार्टी काममा लगाएको बताउने गरेका थिए । तर उनको छोरी मानुषी यमी भट्टराईको नाममा विभिन्न बैंक तथा वित्तिय संस्थामा २० लाख रुपैयाँभन्दा बढी रकम रहेको उनले प्रधानमन्त्री हुँदा नै पेश गरेको सम्पत्ति विवरणमा उल्लेख गरेका थिए ।

पत्नी हिसिला यमीको घर बेचेर छोरीलाई अंशका रुपमा दिएको तथा जनयुद्धकालमा उनका ठूली आमाले सहयोगस्वरुप दिएको रकम जम्मा पारी बैंकमा राखिदिएको डा भट्टराईले बताउने गरेका छन् ।

गोरखाको खोप्लाङ गाविसमा सात रोपनी १२ आना एक दाम खेत र करिब १० रोपनी पाखो पिताले नातिनी मानुषीका नाममा बकसपत्र गरी दिएको उनको सम्पत्ति विवरणमा देखिन्छ । यस हिसाबले डा भट्टराईको भौतिक सम्पत्ति उल्लेख्य नै छ भन्ने देखिन जान्छ ।

कति छ नारायणकाजीको सम्पत्ति ?

नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री भइसकेका ब्यक्ति हुन् । उनी माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल पछिका नेता समेत हुन् ।

उनी आफूसँग कुनै पनि नगद मौज्दात नरहेको बताउँछन् ।

नेता श्रेष्ठसँग गोरखाको जौबारी ६ र ७ मा पैतृक सम्पत्तिबाट अंशवण्डाबापत प्राप्त गरेको तीन रोपनी मात्रै जमिन छ ।

उनले चढ्दै आएको बा ७ च ४३८५ नम्बरको स्कर्पियो गाडी पनि नातेदार, मित्रहरु र पार्टीको सहयोगमा प्रयोग गरेको उनी बताउँछन् ।

कुनै पनि बैंक, वित्तीय संस्था र सहकारीमा खाता नखोलेको र रकम पनि नभएको उनको दाबी छ । सुन, चाँदी, हिरा, जवाहरात जस्ता अचल सम्पत्तिसमेत आफूसँग नभएको र घर पनि नभएको उनी बताउँछन् । तर उनी ललितपुरको हात्तीवनमा मासिक १ लाख भाडा तिरेर बस्ने गरेका छन् ।


क्लिकमान्डु