बाढीले चोभार क्षेत्र डुबानमा, निकास रोकिँदा ताल बन्यो



काठमाडौं । भारी वर्षासँगै काठमाडौंका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ ।

काठमाडौंबाट पनीको निकास हुने चोभारमा पानीको बहाब बढी हुँदा त्यस आसपासका क्षेत्र डुबानमा परेको छ। चोभारमा पानी जमेर ताल परेको हो । साथै भैंसेपाटीको सैंबु क्षेत्र पनि डुबानमा परेको छ ।

चोभार भनेको काठमाडौं उपत्यकाको निकास जाने ठाउँ हो । मञ्जुश्रीले खोलेको भनिएको किम्बदन्ती रहेको चोभारको खोँचमा डाँडा खसेको छ । डाँडा खसेर चोभारको खोँच बन्द भयो भने काठमाडौं उपत्यकाको धेरै क्षेत्र डुबानमा पर्ने देखिन्छ ।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ।
काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो ।

काठमाडौंको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । काठमाडौँको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ ।

ललितपुरको युएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छजनाको उद्धार गरिएको छ ।


क्लिकमान्डु