दुई वर्ष पुग्नु एक हप्ताअघि राजीनामा दिन्छु, त्यसपछि देउवा प्रधानमन्त्री: ओली (भिडियो)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सत्ताको नेतृत्व लिएको दुई वर्ष पुग्नु एक साताअघि प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका छन् ।

मंगलबार सचिवहरुलाई निर्देशन दिने कार्यक्रममा प्रधानमन्त्री ओलीले यो सरकार कति दिन चल्ने हो भन्दै हल्ला भइरहेको भन्दै पूर्ण कार्यकाल कांग्रेस एमालेको सरकार चल्ने उनले बताए ।

सरकारको नेतृत्व गर्नेबारे ओली र कांग्रेस सभापित शेरबहादुर देउवाबीच सहमति भएको थियो । ओलीले आफूले सहमति अनुसार दुई वर्ष सरकार सञ्चालन गर्ने बताएका हुन् ।

‘यो सरकार कति दिन हो र! भन्ने हल्ला गर्ने गरेका छन्,’ प्रधानमन्त्री ओलीले भने,’मेरो नेतृत्व दुई वर्ष चल्छ । दुई वर्ष पुग्नु एक हप्ता अघि मैले राजीनामा गर्छु । त्यसपछि निर्वाचनसम्म शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ ।’

ओलीले कर्तव्यबोध गरेर वर्तमान सरकार बनेको बताए । ‘यसकारण सरकार ढल्ने त के ढलपल पनि हुँदैन । सरकारको स्थायित्व बारे कसैले चिन्ता गर्नु पर्दैन’ ओलीले भने ।

सबै धोका खाएकाहरु एकठाउँमा भएको जस्तो देखिए पनि आफूहरु त्यो सोचाई भन्दा पनि अहिले शान्ति सुव्यवस्था कायम गर्ने, सुशासन कायम गर्ने र जनतालाई सहज सेवा प्रवाह गर्ने उद्देश्यका साथ अघि बढेको बताए ।

सरकार आग्रह पूर्वाग्रह राखेर अघि नबढ्ने भन्दै प्रधानमन्त्रीले यो वा त्यो पक्ष आफूहरुले नहेर्ने बताए ।

कर्मचारीले निर्णय गर्न डराउने अवस्था नरहने उनले बताए ।

‘निर्णय गर्दा फसिन्छ भन्ने मानसिकता त्याग्नुस् राम्रो काम गर्दा कुनै प्रकारको असुरक्षा महसुस गर्नु पर्दैन । राम्रो कामको निर्णय गरेको सरकारले संरक्षण गर्छ,’ उनले भने ।


क्लिकमान्डु