विराटनगरमा चारभाइले बनाएको बनारसी चटपटे ‘ब्रान्ड’



विराटनगरमा चार दाजुभाईले चलाएको वनारसी चटपटे खान स्थानीयहरु धेरै बेरसम्म लाइनमा उभिन्छन् । औपचारिक कार्यक्रमहरुमा पनि संघसंस्थाले नास्ताको रुपमा वनारसी चटपटे नै खुवाँछन् ।

विराटनगर । लगन र परिश्रम भए सानै लगानीबाट पनि मनग्गे आम्दानी गर्न सकिन्छ र ब्रान्ड बनाउन सकिन्छ भन्ने उदाहरण कोशी प्रदेशको राजधानीसमेत रहेको विराटनगर-९ गुदरी चोकमा मनु साह परिवाले प्रस्तुत गर्दै आएका छन् ।

उनीहरुले गर्दै आएको कर्म सुन्दा जोकोहीलाई पत्यार नलाग्न सक्छ । तर यहाँ आउनेहरुले यथार्थ देख्छन् साह परिवारका चार दाजुभाईले चटपटे बनाएरै गरेको तरक्की ।

विगत अढाई दशकदेखि एकीकृत रुपमा सामूहिक चटपटे, ब्रेडचप, चनाको सातु र पकौडाको व्यापार गर्दै आएका छन् उनीहरु । यही व्यापारबाट उनीहरु दैनिक सरदर ८ देखि १० हजार रुपैयाँसम्म आम्दानी गर्छन् ।

वनारसबाट आएका मनुसहित उनका दाजुभाई बबी, अनिल र विकास विगत अढाई दशकदेखि सँगसँगै यो पेशामा सक्रिय छन् । उनीहरु चटपटे, ब्रेडचप, चनाको सातु र पकौडा विक्री गर्न विराटनगरको चोक चोक र गल्ली चाहार्दैनन् । विराटनगर ९ पुरानो गुदरी चोकैमा वनारसी चटपटे नामले चिनिएको सानो पसल छ । त्यही पसलमा हरेका दिन अपरान्ह ग्राहाकको घुइँचो लाग्छ । त्यहीँ बसेर खानेले खान्छन् अनि घर लैजानेले प्याकिङ गराएर बोकेर हिँड्छन् ।

उनको पसलमा बिहान चनाको सातु (स्थानीयहरु सत्तु पनि भन्छन्) खानेको भीड लाग्छ । एक गिलासको सातुलाई ३० रुपैयाँ पर्छ । विराटनगरमा बिहानी नास्ताको रुपमा चनाको सातु खाने प्रचलन व्यापक छ । हरेक दिन बिहान चनाको सत्तुमात्र विक्री गर्ने पसल महानगर आसपासमा दर्जनौं छन् । मनुले दैनिक १५ किलोसम्म सत्तु विक्री गर्दै आएका छन् ।

साह परिवारले अढाई दशक पहिला विराटनगरको मिल्स एरिया जोगवनीमा ५–६ हजारको लगानीमा यो पेशा सुरु गरेका थिए । पसलबाट आम्दानी हुँदै गएपछि विराटनगरको गुदरी बजार सरे । मनुले भने यहाँ अहिले एक डेढ लाखको लगानी छ । त्यो लगानीले दैनिक सरदर ८–१० हजारको आम्दानी हुँदा चार परिवारको गुजरा चल्दै आएको छ ।

उनका अनुसार परिवारको मुख्य पेशा नै यही हो । यही पेशाले १६ जना परिवारको हरेक आवश्यकता पूरा हुँदै आएको छ । उनले भने यही आम्दानीले परिवारको गुजरा राम्रो चलेको छ । बस्न खान मनग्गे पुगेको छ । मेहनत गर्दा यहीँ आम्दानी छ । उनको भनाइ छ, ‘अनि विदेश किन जानु पर्‍यो त ।’

उनको पसलमा चटपटे प्रतिकिलो ३ सय, चनाको सातु प्रतिकिलो ३ सय २० रुपैयाँ र पकोडा प्लेटको ५० रुपैयाँ पर्छ । चटपटे प्रति प्लेट ५० मा पनि बेच्छन् । दैनिक २२–२५ हजारको विक्री हुन्छ । मनुले भने त्यसबाट नाफा मनग्गे हुन्छ ।

चार जना दाजुभाई बिहानभर घरमै सत्तु पिस्ने, भुजा र चिउरा बनाउनेदेखि आवश्यक सामग्री जुटाउँछन् । अनि अपराह्न पसल खोल्छन् । पसल खोलेसँगै दिउँसो खाजाका नाममा चटपटे र पकौडा खानेको भीड लाग्न थाल्छ । यो पसलमा चटपटे, पकौडा र सत्तुको दैनिक सरदर १० किलो प्याजको खपत हुने उनीहरु बताउँछन् ।

वनारसी चटपटे पसलमा नास्ताको रुपमा पाँच वर्षदेखि नियमित चटपटे र पकौडा खाँदै आएका दिनेश बरालका अनुसार वनारसी चटपटे पसलमा पाइने परिकारको स्वाद विल्कुल अलग छ । ‘आफू पनि नास्ताको रुपमा खान्छु । परिवारका लागि पनि प्याकिङ गराएर बोक्ने गरेको छु,’ बरालले भने । यहाँको चटपटेका अर्का पारखी सुरेश मण्डल परिवारमा पाहुना आउँदा नास्ताको रुपमा यहीँबाट चटपटे, पकौडी र ब्रेडचप लैजाने गरेको बताउँछन् ।

बेलुकापख सरकारी र निजी कार्यालय बिदा भएपछि यो पसलमा नास्ताको नाममा चटपटे र पकौडा खाने कर्मचारीहरुको पनि उस्तै भीड लाग्छ । स्थानीय प्रल्हाद साहले भने पसलमा उभिएर चटपटे र पकौडा खानेको भीड देखेर बाटो हिँड्ने जो कोही पनि लाइन लाग्छन् । त्यतिमात्र होइन, विराटनगरमा हुने अधिकांश सामाजिक संघसस्थाको कार्यक्रममा पनि यहीँबाट चटपटे र पकौडा लगेर नास्ता खुवाइन्छ । उनको पसलमा ७–८ जना बसेर खाने ठाउँ छ । बाँकी सबै सडकपेटीमै उभिएर खान्छन् ।

उद्योग संगठन मोरङले कार्यालयमा गर्ने अधिकांश कार्यक्रममा सहभागी हुनेलाई नास्ताको रुपमा खुवाउन यही पसलबाट चटपटे र पकौडी ओसार्ने गरेको कार्यकारी निर्देशक चुडामणी भट्टराईले बताए । वनारसी पसलमा समय अनुसार सस्तो र ताजा चटपटे र पकौडा पाइन्छ ।

भट्टराईले भने ‘उद्योग संगठनले मात्र नभएर विराटनगरका अधिकांश संघसंस्थाले त्यही पसलबाट नास्ता ल्याएर सहभागीलाई खुवाउने गरेका छन् । सुन्दा त यी चटपटे बेच्ने चार दाजुभाइको कौसल नपत्याउँदो छ । तर चटपटे र पकौडी खान दैनिक लाइन लागेको देख्दा थाहा हुन्छ विराटनगरमा उनीहरुको पसलले कमाएको ख्याती ।’ यसैगरी पारिवारिक व्यवसायको रुपमा सुरु गरेको पसलले विस्तारै लोकल ब्रान्डको रुप लिन थालिसकेको छ ।

भट्टराई भन्छन्, ‘सानो लगानी र पारिवारिक परिश्रममा चलेको यो चटपटे पसलमा भीड देख्दा यो लोकल ब्रान्ड बने जस्ते लाग्छ । विराटनगरका सबैजसो बासिन्दाहरुले कम्तीमा एक पटक त वनारसी चटपटे खाए जस्तो लाग्छ ।’


विनोद भण्डारी