पूर्वगृहमन्त्री जोशी भ्रष्टाचारी ठहर, ९ महिना जेल सजाय



काठमाडौं । पूर्वगृहमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । नेपाली कांग्रेसका पूर्वनेता जोशीलाई आइतबार सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवाना सजाय सुनाएको हो।

न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । यसअघि विशेष अदालतले उनलाई गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

नेपाली कांग्रेसमा लामो समय सक्रिय राजनीति गरेका तनहुँका नेता जोशी पछिल्लो निर्वाचनमा पार्टीको निर्णयविपरीत रामचन्द्र पौडेलविरुद्ध तनहुँ क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएपछि उनको उम्मेदवारी खारेज गरिएको थियो । त्यसैबेला उनलाई कांग्रेसले कारवाहीसमेत गरेको थियो ।

उनी कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका निकट पात्रको रुपमा चिनिन्थे । गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।


क्लिकमान्डु