वर्षमा १ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ बेच्ने १२ पम्प, सेनाले बेच्यो १ अर्ब ६६ करोडको तेल



काठमाडौं । गत आर्थिक वर्षमा देशभरका पेट्रोल पम्पमध्ये १२ वटा पेट्रोल पम्पले सबैभन्दा बढी इन्धनको कारोबार गरी अर्बको क्लबमा पुग्न सफल भएका छन् ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार देशभर सबै प्रकारका गरी १ हजार ७ सय ३६ वटा पेट्रोल पम्प सञ्चालनमा छन् । यसमध्ये साधारण १ हजार ५ सय ४८ वटा, नमूना ५१ वटा र दुर्गम क्षेत्रमा ड्रममा राखेर बिक्री गर्ने प्याक्ड बिक्रेता १ सय ३७ वटा छन् ।

गत आर्थिक वर्षमा देशभरका पम्पहरुमध्ये १२ वटा पम्पले सबैभन्दा बढी इन्धनको कारोबार गरेका छन् । जसमध्ये काठमाडौंमा रहेको नेपाली सेनाको रिपुमर्दिनी पेट्रोल स्टेशनले सबैभन्दा धेरैको इन्धनको कारोबार गरेको हो । यो पम्पले एक वर्षमा १ अर्ब ६६ करोड ९६ लाख ६१ हजार रुपैयाँको कारोबार गरेको छ ।

यसपछि चितवनको कैलाश आयल डिस्ट्रिव्युटरले १ अर्ब ५७ करोड ६८ लाख ८८ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ बेचेको छ ।

त्यस्तै धादिङको भैरवी इन्टरप्राइजेजले १ अर्ब ५३ करोड ९४ लाख १३ हजार रुपैयाँ, बाराको प्रहरी कल्याण कोष पम्पले १ अर्ब ५१ करोड ३९ लाख ६६ हजार, ललितपुरको साझा सेवा सहकारी पम्पले १ अर्ब ४७ करोड ७३ लाख २४ हजार, भक्तपुरस्थित भक्तपुर फ्युल सेन्टरले १ अर्ब ३१ करोड ६१ लाख रुपैयाँ बराबरको इन्धन बिक्री वितरण गरेको छ ।

त्यसैगरी बुटवलको मिलन ब्रदर्शले १ अर्ब ३१ करोड ६१ लाख, चितवनको साझा पेट्रोल पम्पले १ अर्ब २५ करोड ५९ लाख ३९ हजार, काठमाडौंको सत्यनारायण पेट्रोल पम्पले १ अर्ब २० करोड ३९ लाख १५ हजार, काठमाडौंको प्रहरी कल्याण कोष नक्सालले १ अर्ब १८ करोड ८ लाख ४९ हजार, तनहुँको सुगम आयल सप्लायर्सले १ अर्ब ९ करोड ३१ लाख १५ हजार र धादिङको निलकण्ठ पेट्रोल पम्पले १ अर्ब ५ करोड रुपैयाँ बराबरको इन्धनको कारोबार गत आर्थिक वर्षमा गरेका छन् ।

यी हुन् ५० करोडभन्दा बढीको कारोबार गर्ने पम्प

थानकोट डिपोका प्रमुख अशोक साहकाअनुसार उक्त डिपो अन्तर्गत ५० करोडभन्दा बढी रुपैयाँको कारोबार गर्ने पेट्रोल पम्पतर्फ काठमाडौंको नयाँ बानेश्वरमा रहेको हरिसिद्धि आयल स्टोर रहेको छ । उक्त पम्पले ५२ करोड ५८ लाख ५७ हजार रुपैयाँको पेट्रोलियम पादर्थको कारोबार गरेको छ ।

यस्तै नेवा ट्रेड कन्सर्नले ५५ करोड ३६ लाख २६ हजार, न्यु भद्रकाली आयल स्टोरले ५८ करोड ५३ लाख ६ हजार रुपैयाँ, प्रहरी कल्याणकारी कोष सामाखुशीले ५७ करोड ९३ लाख ६८ हजार रुपैयाँ, सत्यनारायण आयल स्टोरले ६८ करोड ५ लाख रुपैयाँ, लगनखेलको शक्तिदेवी पेट्रोल पम्पले ७२ करोड ९ लाख, खडका आयल सप्लायर्सले ७७ करोड ३२ लाख ४८ हजार, प्रहरी कल्याण कोष पेट्रोल पम्प काठमाडौंले ८३ करोड ६९ लाख २५ हजार रुपैयाँ बराबरको पेट्रोलको मात्रै कारोबार गरेको छ ।

यस्तै थानकोट डिपो अन्तर्गत डिजेलको अत्याधिक कारोबार गर्ने पम्पहरुमा वनेपास्थित नारायण आयल स्टोरले ७७ करोड ४ लाख २१ हजार, नुवाकोटको भैरवी आयल स्टोरले ७२ करोड ४ लाख ६६ हजार, श्री गणेश आयल स्टोर चित्तपोलले ६३ करोड ९५ लाख ३३ हजार, महादेवस्थानस्थित हिमाल इन्टरप्राइजेजले ६३ करोड १६ लाख ९३ हजार, जावलाखेल पेट्रोल पम्पले ५८ करोड ३० लाख २८ हजार, भगवति आयल स्टोर काभ्रेले ५७ करोड ४० लाख ४३ हजार, वागमति आयल सप्लायर्सल्ले ५३ करोड ९५ लाख, सत्यनारायण प्रालीले ५२ करोड ३४ लाख १४ हजार र श्री उग्रचण्डी आयल स्टोर बनेपाले ५० करोड ४६ लाख ४५ हजार रुपैयाँको डिजेल बिक्री गरेको छ ।

यस्तै विराटनगरस्थित डिपोतर्फ ५० करोड रुपैयाँको हाराहारीमा कुनै पनि पेट्रोल पम्पले कारोबार गरेका छैनन् । डिजेलतर्फ मात्रै उक्त डिपो अन्तर्गत दुई पम्पले ५० करोडभन्दा बढी रुपैयाँको कारोबार गरेका छन् । डिपो प्रमुख नवविनोद पोखरेलकाअनुसार सुनसरीको तिरुपति फ्युल सेन्टरले ५८ करोड ३३ लाख ५९ हजार र सोही स्थानको जय स्यार्केकालीका आयल सेन्टरले ५७ करोड ९० लाख ६३ हजार रुपैयाँको डिजेल बिक्री गरेको छ ।

भैरहवा डिपोतर्फ डिजेलतर्फ बुटवलको व्यापार कर्पोरेशनले ५८ करोड ९२ लाख ७८ हजार र सोही स्थानको रिपुमर्दिनी पेट्रोल स्टेशनले ६३ करोड ६ लाख रुपैयाँको कारोबार गरेको छ ।

अमलेखगञ्जस्थित मधेश प्रदेश प्रादेशिक इन्धन डिपोका प्रमुख विनितमणि उपाध्यायका अनुसार उक्त डिपो अन्तर्गत ५० करोडभन्दा बढीको डिजेलको कारोबार गर्ने पम्पहरुतर्फ चितवनको नारायणगढ पेट्रोल पम्पले ९० करोड ७८ लाख ६६ हजारको पेट्रोलियम पदार्थ बेचका हुन् ।

यस्तो छ पम्पको मापदण्ड

निगमका प्रवक्ता ठाकुरकाअनुसार पेट्रोल पम्पले इन्धन बिक्री गरेवापत पेट्रोलतर्फ ३.१ प्रतिशत र डिजेलतर्फ २.६५ प्रतिशत कमिशन प्राप्त गर्छन् । यसमा ढुवानी, बीमा, सिक्रेज, वर्किङ्ग लस, मुनाफा रकम पनि जोडिएको हुन्छ ।

निगमले पम्प राख्ने मापदण्डसमेत तोकेको छ । जसअनुसार नमूना पम्पको दूरी एक आपसबाट १० किलोमिटर हुनुपर्ने तोकिएको छ । यस्तै नमूना पम्पको लागि तराईमा एक विगहा(१३ रोपनी) र पहाडी भेगमा ५ रोपनी जग्गा हुनुपर्ने मापदण्ड छ । त्यस्तै साधारण पम्प सञ्चालनका लागि १० कटहा जग्गा चाहिन्छ ।

साधारण पम्पतर्फ एक पम्पदेखि अर्को पम्पको दूरी ३ सय मिटर हुनुपर्छ । त्यस्तै दुर्गम क्षेत्रमा सञ्चालनमा रहेको प्याक्ड बिक्रेताको हकमा एक बिक्रेतादेखि अर्को बिक्रेताबीच ५ सय मिटर दूरी तोकिएको छ । आर्थिक वर्ष २०६८/६९ देखि साधारण पेट्रोल पम्पको लागि उपलब्ध गराइने अनुमति पत्र बन्द छ । अहिले नमूना पेट्रोल पम्पको अनुमति पत्र मात्रै उपलब्ध छ ।

झण्डै ३ खर्बको आयात

निगमका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा निगमले इण्डियन आयल कर्पोरेशन(आईओसी) सँग २ खर्ब ७२ अर्ब रुपैयाँबराबरको इन्धन खरिद गरेको थियो ।

अघिल्लो आर्थिक बर्ष २०७९/८० मा निगमले आइओसीबाट २ खर्ब ८१ अर्ब रुपैयाँ बराबरको इन्धन खरिद गरेको थियो ।

वास्तवमा नेपालको कूल निर्यात आयले पनि वर्षभरको इन्धन आयातको पैसा तिर्न पुग्दैन । किनकि कूल निर्यात आय साढे १ खर्ब छ भने इन्धनमात्र करिब दोब्बर अर्थात् करिब ३ खर्ब रुपैयाँको अयात हुन्छ ।

निगमले बेच्यो २ अर्ब लिटरभन्दा बढि इन्धन

निगमका प्रवक्ता ठाकुरका अनुसार निगमले गत् आर्थिक बर्षमा खाना पकाउने ग्यासबाहेक २२ लाख ८९ हजार २ सय ४५ किलोलिटर (२ अर्ब २८ करोड ९२ लाख ४५ हजार लिटर) इन्धन बिक्री गरेको छ ।

‘अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा मट्टितेलबाहेक सबै प्रकारको इन्धनको खपत दर बढेका कारण बिक्री दर पनि बढेको छ,’ ठाकुरले भने ।

जसमध्ये पेट्रोल ६ लाख ८८ हजार ५ सय ८१ किलोलिटर, डिजेल १३ लाख ९३ हजार ८५ किलोलिटर, मट्टितेल १२ हजार ८ सय ४६ किलोलिटर र हवाई इन्धन १ लाख ९४ हजार ७ सय ३३ किलोलिटर बिक्री गरेको छ । यस्तै खाना पकाउने एलपी ग्यासतर्फ ५ लाख २४ हजार २ सय ७४ मेट्रिक टन बिक्री गरेको छ ।

निगमले अघिल्लो आर्थिक बर्ष २०७९/८० को तुलनामा गत् आर्थिक बर्ष २०८०/८१ मा पेट्रोलतर्फ २, डिजेलतर्फ १, हवाई इन्धनतर्फ ११ र खाना पकाउने ग्यासतर्फ २ प्रतिशत बढि परिमाणमा इन्धन बिक्री गरेको छ । यस्तै मट्टितेलतर्फ भने अघिल्लो आर्थिक बर्षको तुलनामा बिक्री दर ५ प्रतिशतले घटेको छ ।


राजेश बर्मा