बिचौलियाको पहलमा नयाँ गठबन्धन बनाइयो: दाहाल



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेपछि सरकार ढालेको आरोप लगाएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नरबहादुर कर्मचार्यको स्मृति सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सामाजिक न्याय, देशभित्र र बाहिर रहेका नेपाली युवाहरुको पक्षमा काम गर्दा सरकार ढालेको आरोप लगाए । युवालाई सामाजिक सुरक्षामा आवद्ध गर्ने र उनीहरुका हक हितको पक्षमा केही महत्वपूर्ण निर्णय लिएसँगै सरकार ढालिएको पनि उनको भनाइ थियो ।

दाहालले विचौलियाहरुको पहलमा नै नयाँ गठबन्धन बनाइएको जिकिर गर्दै विचौलियकै पक्षमा सरकारले काम गर्ने बताए । उनले पछिल्ला दुई गिरफ्तारीपछि सरकार परिवर्तनको चलखेल भएको पनि बताए । तर प्रतिगमनको खतराबिरुद्ध पार्टीलाई एकतावद्ध गर्ने र जनतासँग जोडिएर जरुरी पर्दा आन्दोलनको तयारी गर्ने कुरामा आफूहरुको मुख्य लक्ष्य रहेको पनि उनले बताए ।

‘अहिले पनि पार्टीको नेतृत्वमा हाम्रो नेतृत्वमा भएको सरकारले सुशासनको पक्षमा केही गम्भीर पहल गर्दै थियो । यो सबैलाई थाहा भएकै कुरा हो । सामाजिक न्यायको पक्षमा पनि देशभित्र र देश बाहिर रहेका नेपाली युवाहरुको पक्षमा उनीहरुलाई सामाजिक सुरक्षामा आवद्ध गर्ने र उनीहरुका हक हितको पक्षमा केही महत्वपूर्ण निर्णय हामीले गरेका थियौँ । देशभित्र पनि सामन्ती अत्याचारका अवशेषहरु मिटरब्याज जस्ताका बिरुद्ध कानूनी र व्यवहारिक संघर्षका रेकर्डहरु बनाएकै थियौँ । अर्थतन्त्र अफ्ठ्यारो स्थितिमा हुँदा हुँदै पनि हामीले धेरै मेहनत गरेर बिस्तारै त्यसलाई लयमा ल्याउने कोशिस गरेका थियौँ र लयमा आउँदै पनि थियो । अझ मुख्य रुपमा सुशासनको पक्षमा नेपालको इतिहासमा नै पहिलो पटक सरकारको तर्फबाट दूरगामी पहल भएपछि एउटा वर्ग, तप्का, भ्रष्टाचारमा लिप्त हुने तत्वहरु तिनीहरुको लागि त्यो सह्य भएन,’ दाहालले भने ।

सत्ता पक्ष अहिले पराजित मानसिकतामा रहेको र रक्षात्मक अवस्थामा रहेको पनि उनको भनाइ थियो । साथै आफूहरु अहिले आक्रामक ढंगले आफ्ना कुरा राख्ने स्थितिमा रहेको पनि उनले बताए । उनले भनेका छन्,’आम जनताले पनि यो भ्रष्टाचारीलाई सरकारले कारबाही गर्दै गरेर दुई जना पछिल्लो चरणमा गिरफ्तार भएपछि नै यो सरकार बनेको भन्नेकुरा जनताले बुझेको छ । हाम्रो लागि राम्रो आधार बनेको छ, जनतामा जाने । त्यसलाई संगठनमा बदल्नु छ ।’

अध्यक्ष दाहालले आफू नेतृत्वको सरकारको कामबाट आम जनतामा निराशा नरहेको पनि जिकिर गरे । उनले आफू विजयी भएर बेदाग निस्किएको भन्दै ओम्नी, गिरिबन्धु, नक्कली भूटानी शरणार्थी कुनै पनि भ्रष्टाचारका प्रकरणमा आफूहरु नमुछिएको पनि स्पष्टिकरण दिए । साथै पार्टीलाई अझ उचाईमा लैजाने, जनतामा जाने कुरामा संकल्प गर्नुपर्ने पनि उनको भनाइ थियो ।


क्लिकमान्डु