जापानी कम्पनी योकोहामाको टायर नेपाली बजारमा



काठमाडौं। विश्वकै सर्वोत्कृष्ट टायरको रुपमा स्थापीत योकोहामा टायर नेपाली बजारमा पनि भित्रिएको छ ।

अटो पार्टस इन्टरनेशनल (एपीआई) ले जापानी टायर कम्पनी योकोहामाका टायर नेपाल भित्राएको हो । नेपालका लागि आधिकारिक बिक्रेता एपीआईले योकोहामाले उत्पादन गरेका टायरहरू बिक्री वितरण गर्नेछ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच योकोहामा टायर नेपाली बजारमा प्रवेश गरेको घोषणा गरिएको थियो । ‘डिलर मिट’ मार्फत् टायरको ‘लन्च’ गरिएको थियो । योकोहामा इन्डियाका प्रबन्ध निर्देशक हरिन्दर सिंहले योकोहामा समूहका लागि नेपाल महत्वपूर्ण बजार रहेको भन्दै नेपालको भौगोलिक अवस्था र सडकअनुसार योकोहामाको टायर उपयुक्त र किफायती साबित हुने बताए ।

नेपालको भूगोलका लागि उपयुक्त टायर योकोहामा रहेको दाबी गरेका उनले नेपाललाई विश्वस्तरीय टायर उपलब्ध गराउने प्रतिवद्धता समेत जनाए ।

अटो पार्टस इन्टरनेशनल (एपीआई) का प्रबन्ध निर्देशक सगुन कंसाकारले योकोहामासँगको साझेदारीप्रति उत्साह व्यक्त गर्दै नवीनतम र गुणस्तरका लागि विश्व प्रख्यात योकोहामासँग सहकार्य गर्न पाउँदा खुसीको महशुस भएको बताए । कंसाकारले नेपाली उपभोक्तालाई स्तरीय सेवा प्रदान गर्ने र नेपालको अटोमोबाइल क्षेत्रको विकासमा योगदान गर्ने लक्ष्य आफ्नो रहेको बताए ।

१०७ वर्षको इतिहास बोकेको योकोहामाले आफ्नो उत्पादनमा सधै उत्कृष्टता दिने गरेको छ । सन् १९१७ मा स्थापना भएको यस कम्पनीले उत्कृष्ट टायर बनाउनुका साथै डिजाइन र प्रविधिमा समेत जोड दिने गरेको छ भने विश्वव्यापी रूपमा यसको उत्पादन र बजार विस्तार आक्रामक रहँदै आएको छ ।


क्लिकमान्डु