वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघलाई दियो १० लाख रुपैयाँ



काठमाडौं । चौधरी ग्रुपको सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रूपैयाँ हस्तान्तरण गरेको छ ।

आईसीसी टी-२० विश्कपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरुप सीजी फुड्सले घोषणा गरेअनुसार उक्त रकम हस्तान्तरण गरिएको हो ।

नेपाल राष्ट्रिय टिम टी-२० विश्वकपमा सहभागी बनिरहँदा खेलाडीहरूलाई प्रोत्साहन स्वरुप वाइवाइले प्रत्येक रनका लागि १ हजार, प्रत्येक चौकाका लागि ८ हजार, प्रत्येक छक्काका लागि १२ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो ।

त्यसैगरि प्रत्येक विकेटका लागि १५ हजार, प्रत्येक अर्धशतक वापत ५० हजार, प्रत्येक शतक वापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने घोषणा वाइवाइले गरेको थियो ।

त्यसैगरि सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि ३० लाख उपलब्ध गराउने वाइवाइको घोषणा थियो ।

सोही घोषणा बमोजिम विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शन अनुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरुको २ लाख १६ हजार, छक्काहरुको १ लाख ८ हजार गरि ९ लाख ४४ हजार भएकोमा उक्त रकममा ५६ हजार थप गरि हस्तान्तरण गरिएको हो ।


क्लिकमान्डु