यी हुन् ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णय



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज शपथ लिएपछि सिंहरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहालीपछि भएको बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

उक्त रङ्गशालामा दर्शक बस्न प्याराफिट, रात्रिकालीन खेलकुदका लागि फ्ल्ड लाइट र आवश्यक संरचना बनाउने निर्णय गरिएको छ । उक्त कामका लागि तीन सय दिनको समयसीमा निर्धारण गरिएको छ ।

बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोक्ने निर्णय गरेको छ ।

बैठकले हालैको दिनमा परेको अविरल वर्षापछि आएको बाढी पहिरोबाट ज्यान गुमाउने मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारमा समवेदना प्रकट गरेको छ । यस्तै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि बैठकले गरेको छ । बैठकले बाढी पहिरोबाट ज्यान गुमाउनेको परिवारलाई राहत प्रदान गर्ने निर्णय पनि गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

यस्तै ०८२ सम्म असार मसान्तभित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

यसैगरी अघिल्लो सरकारका सबै प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय समेत बैठकले गरेको छ ।

यसैगरी बाढी, पहिरोमा बेपत्ता भएर १० दिनसम्म पनि फेला नपर्नेका परिवारलाई मृतक सरह राहत दिने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले जाजरकोट भूकम्प प्रभावितलाई दोस्रो र तेस्रो किस्ताको रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यस्तै प्रधानमन्त्री कार्यालयकी निमित्त सचिव लीलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिने निर्णय बैठकले गरेको गुरुङले जानकारी दिए ।


क्लिकमान्डु