प्रधानमन्त्री ओलीले शपथ लिँदै, को को बन्लान् मन्त्री ?



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

शीतल निवासमा सोमबार बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीसँग मन्त्रीहरुलाई पनि सपथ गराउने तयारी भइरहेको छ ।

कांग्रेस र एमालेबीच बढीभन्दा बढी दललाई सरकारमा सहभागी गराउने समझदारी बनेको छ ।

कांग्रेस र एमाले बाहेक जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुने निश्चित भएको स्रोतले जानकारी थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारमा सहभागी हुने/नहुने एकिन नभएको स्रोतको भनाइ छ ।

मन्त्री बन्नेहरुको अन्तिम नामावली तयार गर्ने काममा दलहरु जुटिरहेका छन् ।

स्रोतका अनुसार नेपाली कांग्रेसका तर्फबाट आरजु राणा देउवा परराष्ट्र मन्त्री बन्ने करिब करिब निश्चित जस्तै छ । यस्तै, रमेश लेखक गृहमन्त्री बन्ने विषयमा नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरु बीच समझदारी बनेको छ ।

यस्तै, कांग्रेसको तर्फबाट सरकारमा जानेहरुको नेतृत्व प्रकाशमान सिहंले गर्ने सम्भावना छ । कांग्रेसको शीर्ष नेतृत्वले सिंहलाई रक्षा मन्त्री बन्न प्रस्ताव गरे पनि उनले भौतिक पूर्वाधार वा शहरी विकास जस्ता मन्त्रालय पाउनु पर्ने अडान राखिरहेका छन् ।

सिंह रक्षा मन्त्री बन्न तयार नभएको अवस्थामा नेपाली कांग्रेसबाट विमलेन्द्र निधि नेतृत्व गर्दै सरकारमा जाने सम्भावना छ ।

यस्तै, कांग्रेसको तर्फबाट अजय चौरसिया, दिपक खड्का, आशा बिक, चन्द्र भण्डारी मन्त्री बन्ने चर्चा छ ।

त्यस्तै एमालेबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेल उपप्रधानसहित अर्थ मन्त्री बन्ने सम्भावना छ । नेकपा एमालेले अध्यक्ष बाहेकका व्यक्तिले दुई पद पाउन नसक्ने निर्णय गरेकाले पौडेल अर्थमन्त्री बने उपाध्यक्ष पद छोड्नु पर्ने अवस्था आउन सक्छ ।

एमालेका तर्फबाट पदम गिरीले सञ्चार मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ । यस्तै मधेश प्रदेशबाट जुली महतो पनि मन्त्री बन्ने प्रयासमा छिन् ।

पोखराबाट दोस्रो पटक प्रत्यक्ष निर्वाचन जितेकी विद्या भट्टाराई समेत मन्त्री बन्ने चर्चामा छिन् । एमालेका तर्फबाट पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रहेका केही मन्त्रीले नयाँ जिम्मेवारी पाउने सम्भावना छ ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल वा शरदसिंह भण्डारी मन्त्री हुने लाइनमा छन् । नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, जनता समाजवादी पार्टीबाट प्रदीप यादव र जनमतबाट अब्दुल खान मन्त्री बन्ने सम्भावना छ ।


क्लिकमान्डु