साउदी एयरको जहाज अवतरण गर्दा आगो लाग्यो
एजेन्सी । पाकिस्तानको पेसावरमा अवतरण गर्नुअघि साउदी एयरलाइन्सको विमानमा आगलागी भएको छ ।
पेसावरको बचा खान अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गर्ने क्रममा जहाजमा आगो लागेको हो । तर पाइलटले उडानमा रहेका सबै २७६ यात्रुहरुलाई सुरक्षित रुपमा जहाजबाट बाहिर निकालेका छन् ।
साउदी अरेबियाको रियादबाट बिहीबार पेसावर आउँदै गरेको उडानमा २१ क्रु सदस्यहरुसहित २७६ यात्रु थिए । बाचा खान विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरका अनुसार साउदी एयरलाइन्सको जहाजमा धावन मार्गमा आगो लाग्नुअघि अवतरणको क्रममा टायरबाट धुवाँ निस्किएको देखिएको थियो । त्यसपछि लगत्तै अग्नि नियन्त्रकहरुको टोली विमानस्थलमा खटिएको थियो ।
साउदी एयरलाइन्सनका अधिकारीहरुले भने घटनाबारे विज्ञप्ति जारी गर्दै रियादबाट पेसावर जाँदै गरेको फ्लाइट नम्बर एसवी७९२ को विमानको टायर अवतरणको क्रममा धुवाँ निस्किएको र त्यसलाई तत्कालै नियन्त्रण गरिएको उल्लेख गरेको छ । साथै सबै यात्रुहरुलाई सुरक्षित रुपमा बाहिर निकालिएको पनि एयरलाइन्सले जनाएको छ ।