मुकुल ढकाल फेरि देश दौडाहमा गएर जनताको गुनासो लाइभ प्रशारण गर्ने



‘जनताको कुरा उठाउँदा ममाथि रवि लामिछाने क्लवले कारबाही गर्‍यो । रास्वपालाई रास्वपा बनाउँ, रवि लामिछाने क्लब नबनाउँ । जनताहरुले जे भन्नुहुन्छ त्यसै अनुरुप म आफ्नो राजनीतिक यात्रा तय गर्नेछु ।’

काठमाडौं । रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले आगामी महिना फेरि जनताहरुमाझ गएर उनीहरुको गुनासो संकलन गर्ने बताएका छन् । आफूले पार्टीमा बोल्ने वा नबोल्ने भन्ने विषयमा जनताहरुकै सुझाव लिने उनको भनाइ छ ।

आफूमाथि पार्टीले कारबाही गरेको विषयमा बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले यस्तो बताएका हुन् । ‘आगामी महिना म फेरि प्रस्ताव लिएर जनताहरुमाझ जानेछु । उहाँहरुसँग नै सोध्नेछु । म बोलौँ कि नबोलौँ भनेर । किनकि मैले जनताको कुरा बोल्दा नै ममाथि रवि लामिछानेले कारबाही गर्नुभयो,’ नेता ढकालले भनेका छन् ।

यस्तै उनले आफूलाई रास्वपाले कारबाही गरेको नभएर रवि लामिछाने क्लबले कारबाही गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । नेता ढकालले आगामी महिना फेरि जनताको सुझाव र गुनासो संकलन गर्न देश दौडाहामा जाने र यसबारे छिट्टै तालिका सार्वजनिक गर्ने पनि बताएका छन् ।

नेता ढकालले भने, ‘जनताको कुरा बोल्दा मलाई कारबाही हुन्छ भने अब जनतालाई नै सोध्नेछु । तपाइँहरुलाई पनि त्यसमा स्वागत छ । जनताहरुका कुरा जस्ताको त्यस्तै देखाउँ । जनताको कुराहरु कुनै कालो कोठामा लुकेर राख्नु पर्दैन ।’

ढकालले आगामी महिना देश दौडाहा गर्ने क्रममा जनताहरुको गुनासो र सुझावलाई पनि लाइभ गरेर जस्ताको त्यस्तै देखाउने पनि बताएका छन् । ढकालले भनेका छन्, ‘म अब जनताहरुलाई नै सोध्नेछु । उहाँहरुले जे सुझाव दिनुहुन्छ त्यसै अनुरुप म आफ्नो राजनीतिक जीवन र यात्रा तय गर्नेछु । तर रास्वपालाई रास्वपा बनाउँ रवि लामिछाने क्लब नबनाउँ । रवि लामिछानेलाई नैतिकताको शुभकामना ।’

रास्वपाका निलम्बित महामन्त्री ढकाल रास्वपाको संस्थापक महामन्त्री हुन् । तर इलाममा रास्वपाले लज्जास्पद पराजय भोगेपछि पार्टीले ढकाललाई जनताको गुनासो सुन्न देश दौडाहमा पठाएको थियो । देश दौडाहबाट फर्किएर तयार पारिएको प्रतिवेदन गत साता पार्टीमा बुझाउँदा रास्वपाले ढकाललाई कारबाही गरेको हो ।


क्लिकमान्डु