रवि लामिछाने क्लबले पार्टी कार्यालय कब्जा गर्‍यो, म अझै महामन्त्री हुँः मुकुल ढकाल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट पदमुक्त भएका डा. मुकुल ढकालले पार्टी कार्यालय रवि लामिछानेको क्लबले कब्जा गरेको र आफू अझै महामन्त्री रहेको बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै उनले लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई हाइज्याक गरेर क्लबमा परिणत गरेको बताए ।

ढकालले आफू अझै पनि रास्वपाको महामन्त्री रहेको तर्क गरे ।
आफूले चाहेमा कुर्सीमा गएर बस्न सक्ने तर लफडा गर्ने पक्षमा नरहेको उनको भनाइ छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ताबाट म निलम्बित भएको छैन,’ उनले भने, ‘मलाई रवि लामिछानेको क्लबबाट हटाइएको हो ।’

सहकारी प्रकरणमा रास्वपाले पनि छानबिन गर्नुपर्ने उनको भनाइ छ ।

‘सर्वोच्च अदालतले पनि फैसला गरिसकेको छ । पार्टीभित्रबाट स्वतन्त्र उच्चस्तरीय छानविन समिति गठन हुनुपर्‍यो,’ उनले भने, ‘छानबिन समितिमा रवि लामिछानेका गोजीबाट होइन स्वतन्त्र व्यक्तिहरु राख्नुपर्‍यो ।’

उनले रविको पासपोर्टको विषयमा पनि उच्चस्तरीय छानबिन गर्नुपर्ने उनले बताए । लामिछानेको दुईवटा पासपोर्ट भएको र यसको छानबिन गर्नु पर्ने उनको भनाइ छ । उपसभापतिबाट निलम्बनको पत्र थमाइएकोमा पनि उनको असन्तुष्टि छ । सभापतिले अधिकार प्रत्यायोजन नगरीकन उपसभापतिले निलम्बन गर्न नसक्ने उनले तर्क गरे ।


क्लिकमान्डु