सहकारीको पैसा सेयर बजारदेखि निजी लगानीसम्म, कर्जा सेवा शुल्क ५% लिएर अध्यक्ष, सञ्चालकले पारे झ्वाम



काठमाडौं । सहकारीका अध्यक्ष तथा सञ्चालकहरुले वचतकर्ताको रकम सेयर र निजी जग्गा किन्न तथा आफना निजी कम्पनीमा लगानी गर्ने गरेका छन् । काठमाडौं महानगरपालिकाको सहकारी विभागले ४० वटा सहकारी संस्थाको अनुगमन पछि निकालेको निस्कर्ष हो यो ।

अनुगमनमा क्रममा काठमाडौंका सहकारीमा अन्य विभिन्न बेथितिहरु पनि देखिएका छन् ।

काठमाडौंका सहकारीले बचतकर्ता ठगेर संस्थाका अध्यक्ष, सञ्चालक, व्यवस्थापकले अकुत कमाउने गरेको पनि अनुगमनको क्रममा देखिएको छ । कतिपय संस्थाहरुले सहकारीको पैसा निजी कम्पनीमा लगानी गर्ने र कम्पनी घाटामा गएको खण्डमा त्यो घाटा सहकारीको नाममा देखाउने गरेको पाइएको पनि सहकारी संस्थाको अनुगमनमा रहेका एक सदस्यले क्लिकमान्डुलाई बताए ।

‘अहिले गरेको अनुगमनको क्रममा सहकारी संस्थामा ब्यवस्थापकको मोनोपोली, संस्थालाई पारिवारिक रुपमा चलाउने, व्यवस्थापक र अध्यक्ष एकै घर परिवारका व्यक्ति हुनेलगायतका विकृती देखिएको छ,’ उनले भने, ‘एकारका परिवार श्रीमान, श्रीमती, दाजुभाई मिलेर चलाएका सहकारमिा बढी समस्या देखिएको छ ।’

अनुगमन गरिएका धेरै सहकारीले कर्जा दिँदा धितो राखेका छैनन् । मनलाग्दी र सीमाभन्दा बढी कर्जा दिने सहकारीमा बढी समस्या देखिएको छ ।

यसैगरि, कतिपय सहकारीले आफन्तलाई कर्जा दिनुका साथै सञ्चालकले निजी कम्पनीमा लगानी गरेको पनि पाइएको छ । कतिपय सहकारीको पैसा घर, जग्गा, रेष्टुरेन्ट, सेयर बजारमा लगानी गरिएको छ ।

‘केही सहकारीले निजी कम्पनीमा लगानी गरेका रहेछन्,’ ती सदस्यले भने, ‘निजी कम्पनी घाटामा गएको खण्डमा त्यो घाटालाई सहकारी संस्थाको नाममा देखाएको पाइयो ।’

कतिपयले सहकारीले कानुनभन्दा बाहिर गएर आफना सदस्य बाहेकसँग पनि कारोबार गरेको देखिएको छ । त्यस्ता सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न सकेका छैनन् । सहकारी ऐनमा आफना सदस्यबाहेक अन्यसँग कारोबार गर्न नपाइने स्पष्ट उल्लेख छ ।

सहकारीले बचतकर्तालाई मात्रै होइन, ऋणीलाई समेत कानुन मिचेर ठगेका छन् । प्रदेश सहकारी कानुनले सहकारी संस्थाले कर्जा दिँदा सेवा शुल्क सुरुमा १ प्रतिशत र नविकरण गर्दा ०.२५ प्रतिशत लिनु निर्देशन दिएको छ ।

तर, अनुगमन गरिएका सहकारीहरुले कर्जा दिँदा ५ प्रतिशतसम्म सेवा शुल्क लिएको पाइयो । ‘त्यसमध्ये १ प्रतिशत संस्थाको खातामा राख्ने, बाँकी ४ प्रतिशत अध्यक्ष र प्रबन्धकले अपचलन गर्ने गरेको तथ्यसमेत फेला परेको छ ।’

महानगरले ४० वटा सहकारीको अनुगमन गरेर सहकारी ऐन विपरित संचालित तथा अत्यन्त धेरै विकृती देखिएका ७ वटा सहकारीको फाइल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पठाइसकेको छ । थप केही संस्थाको फाइल पठाउने क्रममा रहेको छ ।

करिब चार महिनाको अवधिमा महानगरले ४० वटा सहकारीको अनुगमन गरेर सबैलाई स्पष्टिकरण पनि सोधेको छ । त्यसमध्ये १० वटा सहकारीले स्पष्टिकरणको जवाफ पठाइसकेको र बाँकीको जवाफ आउनेक्रममा रहेको महानगर सहकारी विभागले जनाएको छ ।

यसरी, जवाफ आएका र आउने क्रममा रहेका केही सहकारीको फाइल थप अनुसन्धानका लागि सिआईबीमा पठाउने पर्ने देखिएको पनि महानगरिले जनाएको छ । यसका साथै, केही सहकारीलाई विभागले आर्थिक जरिवाना समेत गर्ने तयारी गरेको छ ।

चालु आर्थिक वर्षमा ४० वटा सहकारीको अनुगमन गरेको महानगरले आगामी आवमा अझै बढी संस्थाको अनुगमन गर्ने तयारी गरेको छ । काठमाडौं महानगरपालिका सहकारी महाशाखा प्रमुख सुशिल सुवेदीका अनुसार आगामी आवमा नियमित अनुगमन बाहेक कुनै सहकारीको उजुरी परेको खण्डमा त्यस्तो संस्थाको पनि अनुगमन हुनेछ ।

अनुगमन गर्दा कैफियत देखिएको खण्डमा कारबाही पनि गरिने सुवेदीले बताए । आगामी आवमा सहकारीको अनुगमनका लागि महानगरले तीन जना चार्टर्ड एकाउन्टेन्ट (सिए) नै नियुक्त गर्ने तयारी गरेको छ ।

अहिलेसम्म सहकारीको बचत ठगेर फिर्ता नगरेपनि हुन्छ भनेर भागेका सहकारीका सञ्चालकलाई पनि विभागले सीआईबीको सहयोगमा कारबाहीको दायरामा ल्याउने भएको छ ।

महानगरले यसपटक ८० वटा सूचक बनाएर अनुगमन गरेको थियो । अनुगमनबाट धेरै विषय थाहा पाएको हुनाले आगामी आवमा सुचकलाई घटाउने तर अनुगमन र नियमन थप प्रभावकारी बनाउने तयारीमा महनगर जुटेको उनको भनाइ छ ।

अनुगमनका क्रममा केही सहकारीले राम्रो काम गरेको पाइएको पनि अनुगमनमा सहभागी सदस्यले बताए । महानगरले सहकारीलाई अनुगमन गरेपछि वा आर्थिक जरिवाना गराउँदा प्रशासकीय अधिकृतले त्यसको जानकारी महानगरका प्रमुखलाई पनि दिइने गरेको पनि जनाएको छ ।


सोभित थपलिया