कृषि कर्जाको अनुदान दुरुपयोग भएको पाइएन : गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकमको दुरुपयोग नभएको स्पष्ट पारेका छन् ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले कृषि कर्जाको ब्याजदरमा दिइएको अनुदान विश्लेषण गर्दा त्यसमा दुरुपयोग नदेखिएको बताए । केही व्यक्तिबाट दुरुपयोग भएको देखिएकामा असुल प्रक्रिया पनि प्रारम्भ भइसकेको उनले बताए ।

‘कृषि कर्जाको अनुदान दुरुपयोग भएको भन्ने सतही कुरा हुन् । यो सफल कार्यक्रम देखिएको छ र अनुदानको प्रभावकारिता राम्रो छ’, गभर्नर अधिकारीले भने, ‘हाम्रो अध्ययनका क्रममा निकै सानो सङ्ख्यामा मात्रै यस्तो कर्जा दुरुपयोग भएको देखिएको छ । यसलाई असुल गर्ने प्रक्रिया पनि अघि बढिरहेको छ ।’

सरकारको योजनाअनुसार अर्थ मन्त्रालयले युवाहरुलाई व्यावसायिक कृषि कर्जामा प्रदान गर्ने ब्याज अनुदानसम्बन्धी कार्यविधि तयार पारेर कार्यविधिअनुसार नै अनुदान उपलब्ध गराइएको गभर्नर अधिकारीले दाबी गरे ।

हालसम्म १ लाख २६ हजार ऋणीले कृषि कर्जामा अनुदान पाएको जनाउँदै त्यस्तो अनुदान पाउने अधिकांश महिला तथा साना किसान रहेको उनले बताए । यो कार्यक्रम विवादमा परेपछि २०७९ असोजयता अनुदान नदिइएको उनले स्पष्ट पारे ।

उद्यमशीलता विकास तथा रोजगारी सिर्जना र वित्तीय पहुँच तथा साक्षारता विस्तारका लागि साना किसान विकास लघुवित्त र साना किसान सहकारीले महत्वपूर्ण भूमिका खेलेको पनि गभर्नर अधिकारीले बताए । पछिल्लो समय सहकारी क्षेत्रमा समस्या देखिन थाले पनि साना किसान सहकारी संस्थाहरुमा भने यस्तो समस्या नआएको उनको भनाइ छ ।

विगतमा कृषि कर्मलाई हेला गर्ने समाजले अहिले सम्मान गर्ने अवस्था आएको पनि गभर्नर अधिकारीले उल्लेख गरे ।

राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कृषि कर्जामा दिइएको अनुदानको दुरुपयोग भएको धारणा राखे । नीतिगत स्थायित्वको अभावमा निजी क्षेत्रको मनोबल खस्किँदै गएकाले उनीहरुले लगानी गर्न नचाहेको उनले बताए ।

साना किसान विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शिवरामप्रसाद कोइरालाले सरल कर्जा प्रवाहमार्फत युवा उद्यमशीलता विकास, समावेशी वित्तीय पहुँच विस्तारमा संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए ।

‘यस लघुवित्तले साना किसान कृषि सहकारीमार्फत कर्जा प्रवाह गर्ने भएकाले उद्यमशीलता विकास र रोजगारी सिर्जना गरी आन्तरिक उत्पादनमा योगदान पुगेको छ’, उनले भने ।

साना किसान लघुवित्तबाट कर्जा पाएकामध्ये ७९ प्रतिशतभन्दा बढी महिला रहेको बताउँदै कार्यकारी अधिकृत कोइरालाले देशभरका पाँच सय ५० स्थानीय तहमा साना किसान लघुवित्तको सेवा पुगिसकेको जानकारी दिए । हाल साना किसानले ११ लाखभन्दा बढी परिवारका ४५ लाख जनसङ्ख्यालाई सेवा दिइरहेको उनले बताए ।

कृषि प्रविधि सिक्ने युवालाई इजरायल पठाइएको भन्दै उनीहरु स्वदेश फर्किएर कृषि कर्ममा लागेका लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कोइरालाले जानकारी दिए । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) बाट कृषि तथा भेटनरी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको, किसानलाई भारतसहित विभिन्न देशमा अवलोकन भ्रमणलगायत विविध क्रियाकलापमा सहभागी गराइएको उनको भनाइ छ ।

एसियाली विकास बैंकबाट कर्जा लिएर लघुवित्तले ग्रामीण उद्यम कर्जा (आरईएफ) सञ्चालन गरेको कार्यकारी अधिकृत कोइरालाले जानकारी दिए ।

साना किसान, विपन्न तथा पछाडि परेका समुदाय, महिला, सीमान्तकृत वर्गका लागि सरल र सहज कर्जा उपलब्ध गराइरहेकाले साना किसान लघुवित्तबाट सञ्चालित कामको नतिजा प्रभावकारी देखिएको उनको दाबी छ ।


क्लिकमान्डु