एमाले फुटाएर एसबाट मन्त्री बनेका प्रेम आले केन्द्रीय कमिटीमा अटाएनन्



काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) ले घोषणा गरेको केन्द्रीय कमिटीमा पूर्वमन्त्री एवं समाजवादीकै नेता प्रेम आलेको नाम भने छुटाइएको छ । पार्टीले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दा नेता आलेको नाम भने छुटाइएको हो।

डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद समेत रहेका आले पार्टीको १०औं अधिवेशनमा भने सहभागी थिएनन् । कुनै बेला एमाले विभाजन गर्दै समाजवादीबाट मन्त्री बनेका आलेले भने केन्द्रीय कमिटीमा स्थान नपाएकोबारे केही प्रतिक्रिया दिएका छैनन् ।

यद्यपि समाजवादीको नेता भए पनि आलेसहित केही नेताहरु पहिलेको पार्टी एमालेमा नै फर्कने तयारीमा देखिएका छन् । आले पछिल्लो समय समाजवादी नेतृत्वसँग असन्तुष्ट देखिँदै आएका थिए । समाजवादीले शुक्रबार ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरे पनि यसलाई विस्तार गरी २९९ सदस्यीय कमिटी बनाउने जनाएको छ ।

आले यसअघि समाजवादीमा पोलिटब्युरो सदस्य थिए । आलेसँगै नेतृत्वसँग असन्तुष्ट रहेका अरु पनि केही नेताहरुको नाम यसपटक केन्द्रीय कमिटीबाट हटाइएको छ ।


क्लिकमान्डु