मुकुलको प्रतिवेदनमा रविमाथि उठेका १० पेचिला प्रश्‍न



काठमाडौं । रास्वपाका निलम्वित महामन्त्री मुकुल ढकालले आफ्ना सभापति रवि लामिछानेमाथि केही व्यवहारिक, गम्भीर र चोटिला प्रश्नहरु उठाएका छन् । समीक्षा यात्राको प्रतिवेदनमा उल्लेख गरिएका ती अधिकांश प्रश्नहरु सभापति लामिछाने र उनको कार्यशैलीप्रति लक्षित छन् ।

जहाँ सोधिएको छ, ‘सरकारमा गएपछि सोचे अनुरूप फाइल किन खोलिएन ?’, ‘निर्मला पन्तलाई न्याय कहिले मिल्छ ?’, ‘ब्लु बस र रोजगारीको कुरा कता पुग्यो ?’ यस्तै १० वटा प्रश्नहरु सभापति लामिछानेमाथि उठाइएको छ ।

रास्वपा गठन भएको छोटो अवधिमै पार्टीभित्रबाटै सभापति लामिछानेमाथि यति धेरै प्रश्न उठाइएको यो पहिलो पटक हो । प्रतिपक्षमा रहँदा निरन्तर प्रश्न उठाउने रवि लामिछानेमाथि पार्टीभित्रै एकपछि अर्को चोटिला प्रश्न यसरी उठ्दा महामन्त्री ढकाललाई भने पार्टीले जिम्मेवारीबाट मुक्त गर्दै कारबाही गरेको छ ।

इलामको निर्वाचनमा रास्वपाका उम्मेदवारको जमानत जफत हुँदै पराजित भएपछि रास्वपाले देश दौडाहबाट पार्टीको समीक्षा गर्ने निर्णय गरेको थियो । सोही अनुरुप महामन्त्री मुकुल ढकालले समर्थक र आम जनताहरुलाई प्रत्यक्ष भेटेर प्रतिक्रिया, सुझाव र गुनासो संकलन गरेका हुन् ।

प्रतिवेदनमा जनमत पार्टीका नेता सीके राउतजस्तै गरी पृष्ठभूमिमा बस्नुपर्ने सुझाव पनि समेटिएको छ । यस्तै चेसको रानीको विम्ब बनाएर सभापति लामिछानेलाई एक्लै धेरै सक्रिय बन्नु स्वभावित नहुने पनि सुझाव प्रतिवेदनमा समेटिएको छ ।

प्रतिवेदनमा सोधिएको छ, ‘जीबी राई कहिले समातिन्छन् ? समात्न सकिँदैनथ्ये भने प्रतिपक्षमा हुँदा किन म्याद नै तोकेर बोलेको ?’ । यससँगै सभापतिको सचिवालयमा अधिकांश ग्यालेक्सी टीभीका कर्मचारी भएकोमा पनि गुनासो गरिएको छ । साथै सभापतिमा त्यागको भावना नभएकोमा पनि गुनासो गरिएको छ ।

यस्ता छन् रविमाथि उठेका १० प्रश्न :

१ चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? सभापति आफैँ गृहमन्त्री भएर किन गएको ? सिके राउत जस्तो ब्याकमा किन नबसेको ?

२ जीबी राई कहिले समातिन्छन् ? समात्न सकिँदैनथ्यो भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको ?

३ सभापतिसँग भेट्नभन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो छ ।

४ सभापतिको सचिवालयमा मृदुभाषी भएनन् । यही सचिवालयबाट अगाडि बढे सभापतिबाट राजनीति सम्भव छैन ।

५ किन ग्यालेक्सीको टिम धेरै भयो ? सभापतिले विश्वासको दायरा बढाउन नसकेको हो ?

६ सरकारमा गएपछि सोचे अनुरूप फाइल किन खोलिएन ?

७ निर्मला पन्तलाई न्याय कहिले मिल्छ ?

८ ब्लु बस र रोजगारीको कुरा कता पुग्यो ?

९ सभापतिमा त्यागको भावना छैन भन्ने सन्देश गएको छ ।

१० सिधाकुरा जनतासँग कार्यक्रममा बोलेका कुरा जनताले सम्झिराखेका छन् तर सभापतिले बिर्सिए जस्तो छ । पार्टीको मेरूदण्ड नै त्यही कार्यक्रम थियो । पार्टीमा सिधाकुरा जनतासँग कार्यक्रमका मान्छे पनि केन्द्रीय स्तरमै आए । सभापतिको सचिवालयमा नै बसे तर तिनीहरुले पनि सिधाकुरा जनतासँग कार्यक्रम बिर्सिए र अरु राजनीति गर्न थाले ।

उल्लिखित प्रश्नहरुको जवाफ सभापतिबाट नै प्राप्त हुनेछ भनेर यहाँ थप केही लेखिएन ।


क्लिकमान्डु